छिट्टै धनी बन्ने लोभले लोट्टो र क्यासिनोको कुलतमा फस्दै मलेशिया पुगेका नेपाली कामदार

काठमाडौं : छिट्टै धनी बन्ने लालसाले रोजगारीका लागि मलेसिया गएका नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा लहसिने प्रवृत्ति बढेको पाइएको छ । मलेसियाको राजधानी क्वालालम्पुर र अन्य प्रमुख शहरहरुमा रहेका क्यासिनो धाउने नेपाली कामदारको संख्या दैनिकरुपमा बढेको बताइएको छ ।

मलेसियामा स्टार वल्र्ड क्यासिनो, डि ग्यान्टिङ्ग क्यासिनो र ग्यान्टिङ्ग वल्र्ड क्यासिनो नेपाली युवाका प्रमुख गन्तव्य मानिन्छन् । मलेसियामा नेपालीलाई क्यासिनो प्रवेश सहज रहेको छ । क्यासिनो र लोट्टोमा मेहनतको कमाई गुमाउनेहरु आफूमात्र नभई नेपालमा रहेको आश्रित परिवारलाई विचल्ली बनाउने र घर नै फर्किन नसक्ने अवस्थामा पुग्ने गरेकोे नेपालीका संघसंस्थाले बताएका छन् ।

कतिपय कामदार जानाजान र कतिपय लहलहैमा क्यासिनो पुग्ने गरेको बताइन्छ । क्यासिनोको कुलतमा फसेकाले आफूसँग रहेकोे रकम सकाएपछि साथीभाइसँग सापट माग्ने, नदिए झगडा समेत गरेर दुश्मनी मोल्ने र कुटपिटबाट समेत उत्रने गरेकोे म्याग्दीका रमेश पुन बताउँछन् ।

सदस्यता लिनेलाई मलेसियामा क्यासिनोहरुले निःशुल्क प्रवेश र खाना खान दिने गरेका छन् । क्यासिनो गएर सानो रकम जितेपछि ठूलै हल्ला चलाउने गरिएका कारणबाट पनि नेपालीहरु क्यासिनो जान लालायित बन्ने र टोटो र म्याग्नममा दाउ लगाउने गरेका छन् । कतिपयले फोर डि र सिक्स डि नामका चिठ्ठामा कमाइ सक्ने गरेकोे छन् ।

पाँचथरका नवीन राई नेपाली दूतावास तथा सामाजिक संस्थाले पर्याप्त सचेतना फैलाउन नसकेको कारणले कामदारमा जानी नजानी क्यासिनोको लत बढेको बताउँछन् । उनले भने, ‘मलेसियामा कामदारको तलब बढेको छ । यहाँ आउने नेपाली कामदारको संख्यामा पनि दैनिक वृद्धि भएको छ, तर रातदिन गरेर गरेको कमाई क्यासिनो र लोट्टोको लतले स्वाहा हुने खतरा बढेको छ ।’

उनले मलेसियामा मात्रै नभएर नेपालमा प्रदान गरिने अभिमुखीकरणको तालिममा पनि यस प्रकारका कुलतका सम्बन्धमा ज्ञान दिनुपर्नेमा जोड दिए । राईले भने, ‘नेपालीमा देखिएको यस प्रकारका कुलतविरुद्ध अभियान नै चलाउनु आवश्यक छ ।’ मध्यान्ह दैनिकमा खबर छ !

https://ujyaalonepalnews.com/archives/24806

Previous articleकालिकामा कृष्णभक्तको काम ३७ योजना, ६३ करोड ३५ लाख खर्च
Next articleसन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै,१२ वर्षसम्म कैद सजाय माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।