गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट उडान सुरु गर्दै नेपाल एअरलाईन्स

काठमाडौँ — नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्र्तगत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ । उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।

निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।

निगमलाई प्राधिकरणले भैरहवाबाट १ सय ५७ यात्रु क्षमताको एयरबस ए३२० न्यरोबडी र २ सय ७४ सिट क्षमताको एयरबस ए३३० वाइडबडीबाट उडान गर्ने अनुमती दिएको छ । उसले यात्रुको माग अनुसार यो रुटमा उडान गर्ने छ । हाल भैरहवाका लागि कुवेतको जजिरा एयरवेजको १ सय ६२ यात्रु क्षमता भएको न्यरोबडी उडाउँदै आइरहेको छ ।

निगम अघि यति एयरलायन्ससँगको चिनियाँ साझेदारीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सले भैरहवाबाट कार्तिक १७ गतेदेखि मलेसिया चार्टर उडान गरीरहेको छ । मलेसियासँग नेपालले भैरहवाका लागि हवाई सम्झौता नगरेकाले उक्त रुटमा हाल चार्टरका रुपमा हिमालयले उडान गर्नुपरेको हो ।

तर, भारतसँगको हवाई सम्झौतामा विमानस्थलको नाम नतोकेकाले निगमले दिल्ली–भैरहवा नियमित उडान गर्ने छ । निगमसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वायुसेवा हुने भएका छन् ।

https://ujyaalonepalnews.com/archives/24981

Previous articleलालपूर्जा वितरणको नीतिगत व्यवस्था एमालेले गरेको हो : खनाल
Next articleचितवन क्षेत्र नं. एक : त्रिपक्षिय प्रतिस्पर्धामा अघिअघि सुरेन्द्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।