नयाँ सरकार गठनको छलफल सुरुभए संगै भारतिय राजदुत एकाएक सक्रिय; देउवा संग ‘वान टू वान’ भेट

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन ।

चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो ।

तर भेटमा के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन । भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार अपरान्ह राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका छन् । निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।

‘विहानको भेटमा दुइटा विषयमा छलफल भयो । सम्पूर्ण नतिजा नआइसकेकाले निर्वाचनको सामान्य समीक्षा भयो’ परियारले भने, ‘गठबन्धनलाई इन ट्याक राखेर सरकार गठन सहित अरु विषयमा छलफल गर्न गठबन्धनका दलको बैठक बोलाउने सहमति बनेको छ ।’ सरकारमा सहभागी दलहरूकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेताबीच सहमति बनेको परियारले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/25087

Previous articleकाभ्रे २ बाट एमाले नेता गोकुल बास्कोटा निर्वाचित
Next articleपिठुवा दुग्ध प्रशोधन तथा विविधिकरण उप-आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।