राजस्व कार्यालयका कर्मचारी हौं भनेर पसल-पसलमा रेड हान्दै हिँडेको टोली पक्राउ

0
34

आइतबार टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा नीलो रंगको कोट-पेन्ट र सेतो सर्ट लगाएका केही युवा-युवतीहरू देखिए। त्यहाँ भएकाहरूमध्ये ६ जना उक्त सरकारी पोशाकमा र दुई जना सामान्य पोशाकमै थिए। उमेर हेर्दा १९ देखि ३० वर्षसम्मका थिए। ती आठै जना युवायुवतीको हातमा हतकडी लगाइएको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गरी आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्‍यो। परिसर प्रमुख एसएसपी भरत बोहराले उनीहरूमाथि ठगी तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान जारी रहेको जानकारी दिए।

सरकारी पोशाकमा रहेका उनीहरूले केही दिनदेखि पहिचान फेरेर विभिन्न ठाउँमा अनुगमन गर्दै आएका रहेछन्। एसएसपी बोहराका अनुसार उनीहरूले आफूहरूलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भनेर चिनाएका थिए। केही दिनदेखि उनीहरूले नयाँ बसपार्क क्षेत्रका साना, ठूला पसल, फुटपाथ पसल, रेष्टुरेन्ट, होटल लगायत विभिन्न ठाउँमा पुगेर कर अनुमगन गरेको एसएसपी बोहराले बताए। ‘सरकारी पोशाक, राजस्वको आइडी कार्ड, रसिद लगायत बोकेर अनुगमन गर्थे,’ उनले भने।

उनीहरू कुनै पनि ठाउँमा अनुगमनका लागि पुग्दा सुरूमा चिनारी दिन्थे। त्यसपछि कर तिरे/नतिरेको विवरण देखाउन लगाएपछि गल्ती भेटेअनुसारको जरिवाना तोक्थे। तत्कालै जरिवाना तिराएर आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिएर उनीहरू फर्किन्थे। यसरी उक्त टोलीले नयाँ बसपार्क इलाकामा चार दिनदेखि अनुगमन गरिरहेको थियो। तर चौथो दिन गत शुक्रबार दिउँसो शंकास्पद व्यक्तिहरूले अनुगमन गरी पैसा उठाइरहेको भन्ने खबर प्रहरीले पायो।

उक्त खबर पाएपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोली उनीहरू भएको ठाउँसम्म पुग्यो। सरकारी पोशाक र आइडी कार्डमै देखिएपछि प्रहरी पनि झुक्कियो। तर सूचनाअनुसार उनीहरूलाई सोधपुछ गर्दा ठगी गरिरहेको भन्ने खुल्यो। त्यसपछि प्रहरीले त्यहाँबाट सात जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरकी २२ वर्षीया सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, २३ वर्षीया दुधकला विक, सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ र नुवाकोटकी २१ वर्षीया अन्जना तामाङ छन्।

यस्तै कञ्चनपुरका २४ वर्षीय राजीव र २५ वर्षीय डेबिड धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। राजीवलाई प्रहरीले शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो। उनीहरूबाट आन्तरिक राजस्व कार्यालयको स्ट्याम्प, राजस्वका किताब, लेटरप्याड, परिचयपत्र, रोजगारी आवेदन फारमहरू, सिपियूलगायत सामान बरामद गरेको छ। राजीवबाट ८४ हजार ७३० रुपैयाँ नगद पनि बरामद भएको छ।  अहिलेसम्म यो समूहले ५ लाख ८ हजार ६४० रुपैयाँ ठगी गरेको खुलेको छ। चार जना पीडितले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी पनि दिइसकेका छन्।

यसमा पीडितको संख्या धेरै भएको र जाहेरी दिनेको संख्या पनि अझै थपिन सक्ने प्रहरीको बुझाइ छ। यस घटनाका मुख्य व्यक्ति डेबिड हुन्। उनैको योजनामा यसरी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘डेबिडले मुख्य व्यक्ति राजीव हो भनेपछि प्रहरी कीर्तिपुरमा पुग्यो। राजीवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा मुख्य व्यक्ति डेबिड नै हो भन्ने खुल्यो,’ प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले भने, ‘पछि उसले पनि त्यो कुरा स्वीकार्‍यो।’

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि खोतल्दा डेबिड अडिटर भएको खुलेको छ। जसकारण पनि उनलाई करका विषयमा धेरै जानकारी भएको देखिन्छ। ‘यस्तो काम गर्नुअघि राम्रैसँग अध्ययन समेत गरेको देखियो,’ एसपी मैनालीले भने। यद्यपि उनले राजस्वमा समेत काम गरेका थिए कि भन्ने प्रहरीको आशंका छ। यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डेबिडबाहेक पक्राउ परेका अरू व्यक्तिहरू भर्ना गरी लिइएका कर्मचारीहरू हुन्। उनले सामाजिक सञ्जाल फेसबुक लगायतबाट विज्ञापन निकालेर करारमा भर्ना गरेका थिए।

‘अफिसमा पछि लैजान्छु भनेर थोरै ओरिन्टेशन दियो। त्यसपछि सिधै काममा लगाए,’ एसपी मैनालीले भने। तलब पनि सरकारी कर्मचारीले पाउने सरह नै दिने भनेका थिए। तर कति हो भन्ने यकिन नगरेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरू सबै जनाविरूद्ध ठगी गर्न नहुने कसूर तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको छ। यसरी पनि ठगी गर्न थालेको भन्दै एसएसपी भरत बोहराले सचेत हुन अनुरोध समेत गरेका छन्।

https://www.ujyaalonepalnews.com/archives/25309

Previous articleखैरहनीमा पौष २९ गतेदेखी खिचरा महोत्सवको आयोजना
Next articleमानसिक बिरामी किशोरी माथि ३ जनाले गरे पटकपटक बलात्कार; गर्भवती भएपछि खुल्यो वास्तविकता