के अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्? यस्तो छ वास्तविकता

निराजन घिमिरे- जबजब विश्वकप फुटबलको अन्तिम चरण तिर अर्जेन्टिना पुग्छ तब-तब नेपालमा एक किसिमको अफवाह फैलाईन्छ । “अर्जेन्टिनीहरु नेपाल विरोधी हुन्, उनीहरुले हाम्रो देशलाई घृणा गर्छन् । यँहा सम्म कि नेपालीलाई अर्जेन्टिनाले आफ्नो देशमा प्रवेश गर्न भिषा सम्म दिदैन । नेपालमा अर्जेन्टिनाको दुतावास पनि छैन । अझ फकल्याण्डको युद्ध पछी अर्जेन्टिनीहरुले प्रत्येक वर्ष नेपालको झण्डा जलाउँछन्” भनेर भ्रामक फोटोहरु भाईरल गराईन्छ ।

यो अफवाह कसरी फैलाईयो त भनेर बुझ्न सर्वप्रथम यसको मुख्य विषयमा पुग्न पर्छ ।  त्यो मुख्य विषय हो, फकल्याण्ड टापु, जो अर्जेन्टिनाबाट झन्डै १५०० किमी टाढा र ब्रिटेनबाट झन्डै १३००० किमी टाढा छ । यो टापुमा कहिले ब्रिटेन कहिले फ्रान्स त कहिले स्पेनले कब्जा जमाउंदै आएका थिए । आफ्नो देशको नजिकमा रहेको टापुमाथि टाढाका राष्टहरुले पालैपालो कब्जा गरिरहेको यो कुरा अर्जेन्टिनालाई पटक्कै मनपरिरहेको थिएन ।

फकल्याण्ड टापु

सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनाले उक्त टापु कब्जा गर्ने उदेश्यले आफ्नो ठुलो सैनिक बटालियन त्यस टापुमा पठायो । त्यो टापुको सुरक्षार्थ बसेका ८० जना ब्रिटेन सैनिक अर्जेन्टिनी सेनाको अगाडी टिक्न सकेनन् र टापुमा अर्जेन्टिनाले कब्जा जमायो । युद्ध हारेपछि रिसाएको ब्रिटेनले उक्त टापु कब्जा गर्न पुन: सैनिक पठाउने योजना बनायो । यसपटक उसले आफ्नो देशमा कार्यरत गोर्खा सैनिकलाई उक्त टापुमा पठाउने निर्णय गर्यो र ६०० गोर्खा सैनिक उक्त टापु अर्जेन्टिनाको कब्जाबाट फर्काउन निस्किए ।

विभिन्न माध्यमबाट गोर्खा सैनिक निकै बहादुर, क्रुर र हिंसात्मक हुन्छन भनेर सुनेका अर्जेन्टिनी सैनिक गोर्खा सैनिकको अगाडी टिक्न सकेनन् । अझ त्यतिबेला ब्रिटेनले बिबिसी मार्फत गोर्खा सैनिकले “दुश्मन मारेर खान्छन्” भन्ने सम्मको हल्ला अर्जेन्टिनी सैनिक विच पुर्याएको चर्चा पनि छ । गोर्खा सैनिकले २ महिना सम्म युद्ध गरेर उक्त टापु फेरी ब्रिटेनको कब्जामा ल्याएको थियो र हालसम्म त्यँहा ब्रिटेनकै कब्जा छ । उक्त युद्धमा झन्डै ६०० अर्जेन्टिनी नागरिक मारिएका थिए ।

फकल्याण्डको युद्धमा ब्रिटेन सैनिकहरु ( Image: Hulton Archive)

त्यतिबेला देखि अहिलेसम्म यि दुई राष्ट्रबीच शितयुद्ध जस्तै छ । एउटा देशका नागरिकहरुले अर्को देशका नागरिकहरुलाई खासै रुचाउँदैनन् । अनि हामी पनि त्यो टापु फिर्ता गर्दा गोर्खा सैनिकले सहयोग गरेको हुनाले अर्जेन्टिनीहरु हामी संग  रिसाईरहेका होलान् भन्ने भ्रममा छौं । तर त्यो वास्तविकता होइन । अहिलेको पुस्ताको अर्जेन्टिनीहरुलाई  त नेपाल भन्ने देश छ र गोर्खा सैनिक भन्ने छ भन्ने पनि थाहा छैन । जतिलाई थाहा छ तिनले नेपाललाई सगरमाथाको देश, वुद्धको देश भनेर चिन्छन् । जसले गोर्खा सैनिक बारे सुनेका छन् उनीहरु गोर्खा सैनिकको प्रसंशक छन् । ति मध्ये एकहुन अर्जेन्टिनी महान् फुटबलर ‘म्याराडोना’ ।

सन् १९८६ को विश्वकपको क्अवाटरफाइनलको अघिल्लो दिन ( २१ जुन) पत्रकारहरुलाई प्रतिक्रिया दिंदै म्याराडोनाले “”भोली हामीले इङ्ल्यान्डलाई हराउंछौं, किनभने उनीहरूको टोलीमा गोर्खाहरू छैनन्, उनीहरु एक्लै हामी संग लड्नेछन् ।” भनेर गोर्खा सनिकको प्रसंसा गरेका थिए । के कुरा चै साँचो हो भने  गोर्खा सैनिककै कारण अर्जेन्टिनाले फकल्याण्डको युद्धमा हार ब्योहोरेको थियो  तर  त्यसकै कारण अर्जेन्टिनी नेपाल संग रिसाएका र नेपाली झण्डा जलाएका भन्ने कुरा सरासर गलत हुन् । यो ब्राजिल, पोर्चुगल, फ्रान्स, लगायतका समर्थकहरुले फैलाएको अफवाह मात्र हो ।

नेपालमा अर्जेन्टिनाको दुतावास चै छैन । त्यसो त नेपालमा जम्मा २५ राष्ट्रको मात्र दुतावास छ । यसो भन्दैमा दुताबास नभएको मुलुकले नेपाललाई घृणा गर्छ भन्न मिल्दैन । भारत र पाकिस्तान बाहेक दक्षिण एसियाको कुनैपनि देशमा अर्जेन्टिनाको दुताबास छैन । हामीलाई आवश्यक परेको खण्डमा भारतमा रहेको दुताबास बाट सबै काम गर्न सकिन्छ । त्यस्तै अर्जेन्टीनामा पनि नेपाली दुताबास छैन । ब्राजिलमा रहेको नेपाली दुताबासले अर्जेन्टिना पनि हेर्ने गर्छ । हामीले बुझ्न पर्ने कुरा के हो भने सबै देशको सबै देशमा दुतावास हुँदैन । अझ हाम्रो जस्तो गरिब मुलुकले त सबै देशमा दुताबास राख्न सम्भव पनि हुँदैन ।

अर्जेन्टिनाले नेपालीलाई भिषा दिदैन भन्ने कुरा सरासर गलत हो । हामीले घरमै बसेर यँहा क्लिक गरेर  अनलाईन मार्फत अर्जेन्टिनाको भिषा अपलाई गर्न सक्छौं । कुटनीतिक सम्बन्धको कुरा गर्ने हो भने नेपाल र अर्जेन्टिना बीच सन् १९६२ जनवरीदेखि नै कुटनीतिक सम्वन्ध कायम भएको हो। अर्जेन्टिना संग नेपालको राजा महेन्द्र कै पालामा कुटनैतिक सम्वन्ध स्थापना भएको हो ।

सन् २०१९ मा अर्जेन्टिनामा भएको साउथ-साउथ कर्पोरेसनको सम्मेलनमा द्विपक्षीय भेटघाट गर्दै तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्जेटिनि भाईस चान्सलर गुस्तावो जाउभिनेन ( तस्विर: अर्जेन्टिनी विदेश मन्त्रालय)

यदि अर्जेन्टिनीहरुले नेपालीलाई घृणा गर्ने नेपाली झण्डा जलाउने गर्दैंनन् भने त्यस्तो फोटो कसरी भाईरल भयो त ?  फेसबुकमा धेरै प्रयोगकर्ताले अर्जेन्टिनीहरुले हाम्रो देश नेपालको झण्डा कयौँ पटक जलाएको दावी गर्दै फोटोसहितको पोस्ट गरेका छन्। खासमा त्यो फोटो वास्तविक फोटो होइन । ईन्टरनेटमा रहेको अर्कै फोटो तानेर फोटोसप गरि नेपालको झण्डा हालेर जलाएको देखाईको मात्र हो ।

 

भाईरल फोटो ( स्रोत: नेपाल फ्याक्टचेक)

यो फोटोको वास्तविकता

नेपाल फ्याक्टचेकले गरेको तथ्य जाँचमा नेपालको झण्डा जलाएको दृश्य फेक भएको पुष्टि भएको छ । यो फोटो २०१६ अक्टोबर २१ तारिखमा न्यु चाइना टिभीले युट्युबमा अपलोड गरेको यो भिडियोमा थम्नेलको रुपमा प्रयोग गरिएको छ । सो भिडियो अर्जेन्टिनीहरुले माल्भिनास आइल्यान्ड र बेलायतीहरुले फकल्यान्ड भन्ने गरेको ठाउँमा बेलायतले गर्न लागेको सैनिक अभ्यासको विरोधमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित बेलायती दूतावासबाहिर गरिएको प्रदर्शनको हो । सोही भिडियोमा थम्बनेलमा प्रयोग भएको फोटोलाई नै फोटोसप गरी नेपालको झण्डा राखी अहिले भाइरल भएको फोटो बनाएको खुलेको छ। किनभने त्यसमा नेपालको झण्डा बाहेक अरु सबै विषय हुबहु देखिन्छन्।

हेर्नुहोस् सक्कली र नक्कली फोटो 

यसबाट के पुष्टि हुन्छ भने अर्जेन्टिनीहरुले नेपाली झण्डा जलाएका हैनन् बरु कुनै नेपालीले नै फोटोसप गरेर यो तस्विर भाईरल गराई अफवाह फैलाएको हो ।

 

 

https://ujyaalonepalnews.com/archives/25406

Previous articleआँगनमा आगो तापिरहेकी चितवनकी भागीरथीको हात्तीले ज्यान लियो
Next articleमौलाकालिका मन्दिरमा अब सरर केबलकार ,तीन महिनाभित्र चढ्न पाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।