सामाजिक सञ्जाल ‘टिकटक’ फोटो राख्ने र अभिनय देखाउने मात्र होइन जुवा खेलाउने ‘प्लेट फर्म’ पनि बनेको छ। ‘टिकटक लाइभ’मार्फत जुवा खेलाउने चार अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो। प्रहरीका अनुसार पछिल्ला दिन ‘टिकटक’मार्फत हुने जुवामा दैनिक लाखौँ रुपैयाँकाे हारजित हुने गरेकाे पाइएकाे छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले धन्दामा संलग्न दाङ राप्ती गापा–३ का २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायक नपा–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुर मध्यपुर ठिमी नपा–६ का २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नपा–६ का २० वर्षीय डिल्लीराज अवस्थीलाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले ‘डिजिटल वालेट’ प्रयोग गरी उनीहरूले जुवा खेलाउँदै आएका थिए।
उनले भने, ‘टिकटक प्रयोग गरी जुवा खेलाउने गरेको सूचना आएपछि प्रहरी निगरानीमा थियो। यही क्रममा चारजना पक्राउ परे। अनुसन्धान गर्दा उनीहरूले टिकटकमा लाइभ बसेर जुवा खेलाउने गरेको खुल्यो। यस क्रममा लाखौँ रुपैयाँको हारजित हुने गरेको अनुसन्धानबाट खुलेको छ।’
प्रहरीका अनुसार पक्राउमध्ये योगीले पब्जी र पब्जी–२ नामको टिकटक एकाउन्ट खोली जुवा खेलाउँदै आएका थिए। उनले दुईवटा इ–सेवा कम्पनीबाट वालेट खोलेका थिए। सोही वालेटमा उनी रकम जम्मा गर्न लगाउँथे। र, जुवा खेलाउँथे।
यस क्रममा उनको वालेटमा ४० दिनको अवधिमा २८ लाख ७३ हजार तीन सय ५४ रुपैयाँ कारोबार भएको अनुसन्धानबाट खुलेको छ। विशेष गरी उनले टिकटकमा ‘फ्लस’ खेलाउँदै आएका थिए। सोही विधिबाट पक्राउ परेका गिरी, कठायत र अवस्थीले पनि जुवा खेलाउँदै आएका थिए।
प्रहरीका अनुसार गिरीले जुवा खेल्नकै निम्ति तीनवटा ‘डिजिटल वालेट’ खोलेका थिए। ‘पोकर किङ’ एकाउन्टबाट जुवा खेलाउने उनको खातामा १० दिनको अवधिमा १० लाख ५२ हजार नौ सय ६२ रुपैयाँको कारोबार भएको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, कठायत र अवस्थीले ‘प्रेम’ नामको एकाउन्ट प्रयोग गरी जुवा खेलाउँदै आएका थिए। उनीहरूले जुवाकै लागि ‘डिजिटल वालेट’ खोलेका थिए। उनीहरूको वालेटमा ६ दिनको अवधिमा ९३ हजार दुई सय १४ रुपैयाँ कारोबार भएको देखिएको छ।
https://ujyaalonepalnews.com/archives/25835


