विदेशी रक्सी र ८ लाख पैसा सहित विमानस्थलका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय गौचरमा आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका नवौँ तहका पूर्णप्रसाद चुडाललाई अख्तियार टोलीले घुससहित पक्राउ गर्याे ।

झापा बाह्रदशी गाउँपालिका–६ का स्थायी बासिन्दा ५१ वर्षीय चुडालमाथि अनुसन्धान जारी छ । तर, उनले लिने घुस र त्यसको प्रवृत्ति भने रोचक देखिएको छ । विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियार टोलीले भेटेको छ । उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।

घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो । कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेबल, एक बोतल डबल ब्ल्याक लेबल, चिभास रिगल, ग्लेनफिडिक, गोर्खाज एन्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ ।

त्यस्तै, चार थान मोबाइल फोन पनि टोलीले बरामद गरेको छ । अख्तियारले चुडालमाथि थप अनुसन्धान चलिरहेको जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26065

Previous articleदुईदिनको शिशुलाई जंगलमा फालेको आरोपमा बाबु पक्राउ
Next articleखैरहनी महोत्सवमा आज राजु परियार र भूमिका गिरीको धमाका रहने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।