ऋण भाखा नाघेको ३० दिनभित्र भुक्तानी गरे जरिवाना नलाग्ने, अरु केके छ व्यवस्था?

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जाको साँवा-ब्याज तिर्ने भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ। अर्ध-वार्षिक समीक्षामार्फत तर्जुमा भएका व्यवस्थालाई राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको हो।

२०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा-ब्याजमा पेनाल ब्याज लिन नपाइने भएको छ। छुट पाउने अवधिभित्र कर्जाको साँवा-ब्याज भुक्तानी नगरेमा पेनाल ब्याज लिन राष्ट्र बैंकले नरोक्ने जनाएको छ।

गत पुस समान्तसम्म सक्रिय वर्गमा रहेका २ करोडसम्म ऋण लिएकाहरुलाई राष्ट्र बैंकले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ। २ करोडसम्म ऋण लिएका यी ऋणीले २०८० असार मसान्तसम्म आफ्नो ऋण पुनर्संचरना वा पुनर्तालिकीकरण गराइसक्नु पर्छ।

पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

यस्तै विकास बैंक र फाइनान्स एक आपसमा कर्ज हुँदा फरक स्वाप रेसियोका कारण सरप्लस हुन आएको रकम जगेडामा जम्मा गर्नुपर्ने व्यवस्था पनि हटाएको छ। जगेडाकोषमा रहेको रकमबाट नगद लाभांश बाँड्न नपाउने व्यवस्था पनि खारेज गरेको हो।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकममा रेमिटेन्स खाता नभए पनि अतिरिक्त एक प्रतिशत ब्याज दिनु पर्ने बताएको छ। निजको परिवारले बचत/मुद्दती निक्षेप खातामा राखेमा समेत न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्ने उल्लेख गरेको हो।

https://ujyaalonepalnews.com/archives/26555

Previous articleजंगली हात्तीको आक्रमणबाट चितवनमा विदेशी पर्यटकको मृत्यु
Next articleबैरिया माविका ५१३ जना विद्यार्थीको आँखा परीक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।