चितवनमा शल्यकृया गरेर निकालेको छावालाई माउले वास्तै नगरेपछि……

चितवन । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएपछि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ। कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वास्थ्य अवस्था राम्रो छ। प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन्।

तर, आफूले जन्माएको छावालाई माउले दूध खान नदिएपछि मान्छेले नै दुहेर खुवाउनु परेको छ। हात्ती प्रजनन् केन्द्रका नायबसुब्बा मनपुरन चौधरीका अनुसार माउले छावाको वास्तै नगरेपछि मान्छेले नै दुहेर खुवाउनु परेको हो। ‘माउको दूधबाहेक पनि चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दूध राखेर खान दिएका छौँ,’ उनले भने, ‘जबसम्म दूध चुसेर खाँदैन, तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने देखिन्छ।’

माउको शल्यक्रिया गरेका कारण गण्डकीकलीको स्याहारसुसारमा विशेष ध्यान दिनुपरेको उनले बताए। सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिदिनुपर्ने उनले बताए। तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रासमेत नलाग्ने उनले बताए।

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। पच्चीस वर्ष उमेरकी गण्डकीकलीलाई मङ्गलबार बिहानैबाटै व्यथा लागेको थियो। ‘व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो,’ उनले भने, ‘हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माउनु दुर्लभ विषय हो।’

गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेका कारण शल्यक्रिया नै गर्नुपरेको हो। ‘हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ,’ उनले भने। गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षकी प्रेरणाकलीबाट जन्मिएकी हुन्। उनको यो दोस्रो बेतको छावा हो। तीन वर्षअघि पहिलोपटक जन्मिएको छावा मरेको थियो।

राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको स्वास्थ्यमा सुधार देखिएको बताए। सुरुआतमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैँ उठेर हिँडडुल गर्न थालेको उनले बताए। ‘सुरुमा छावा कमजोर थियो। राति भिटामिन र औषधि खुवायौँ,’ रिजालले भने, ‘अहिले स्वास्थ्यमा सुधार भइरहेको छ।’ छावालाई विस्तारै माउसँग लगेर दूध खुवाउने प्रयास गरिरहेको उनको भनाइ छ। बाह्र दिनपछि छावाको न्वारन गरिदने रिजालले बताए। प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकको उपस्थितिमा छावाको नाम राख्ने चलन छ।

https://ujyaalonepalnews.com/archives/26804

Previous articleमदिरा सेवन गरेर फिल्मी शैलीमा सडकमा दादागिरी देखाउने प्रहरी जवानलाई निलम्बनको तयारी
Next article‘प्रेमा’ को ट्रेलर सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।