वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुँदै; बिजेताले भारत र पाकिस्तान संग खेल्ने

आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ। पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ।

त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। ‘हामीले दुबै मैदानमा चाहिने आवश्यक पूर्वाधारदेखि अन्य तयारी गरिरहेका छौं,’ पाठकले भने, ‘१५-२० दिनभित्र सबै तयारी सक्ने लक्ष्य छ।’

प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन्। समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्। प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन्।

साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो छैन।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

https://ujyaalonepalnews.com/archives/26922

Previous articleशहीद स्मृति क्याम्पसमा अखिल संयुक्तको प्यानलै विजयी
Next articleराहदानीमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।