छात्रालाई यौनदुर्व्यवहार गर्ने शिक्षकलाई जोगाउन प्रधानाध्यापकको अगुवाइमा सहमति प्रयास

0
70

सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटमा शिक्षकविरुद्ध विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको उजुरी परेको छ । सुनकोसी गाउँपालिका–२ स्थित कुशेश्वर विद्यापिठ माध्यमिक विद्यालय दुम्जाका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि यौन दुव्र्यवहार गरेको किटानी उजुरी परेको हो । पीडितका दाजुले दुईजना बहिनीलाई शिक्षक मैनालीले यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएका हुन् ।

काभ्रेको रोशी गाउँपालिका–२ स्थित भीमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया दुई छात्राको संवेदनशील अंग छुने, फोन नम्बर, फेसबुक आईडी माग्नेक्रम निरन्तर गर्न थालेपछि पीडित बालिकाको परिवारका सदस्यले प्रहरी कार्यालयमा किटानीसहित निवेदन बुझाएका थिए । तर, प्रहरीले निवेदन दर्ता गरेको छैन ।

खुर्कोट इलाका प्रहरीकी प्रमुख प्रहरी निरीक्षक सविता केसीले कार्यालयमा मौखिक निवेदन आइपुगेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले बताए । डीएसपी दाहालले यौनजन्य मुद्दालाई तत्काल दर्ता गरी अघि बढाउन निर्देशन दिएको बताए ।

कक्षाकोठामा गृहकार्य जाँच गर्ने बहानामा मैनालीले विद्यार्थीका शरीरका संवेदनशील अंग छुने गरेको गत ३ चैतमा इलाका प्रहरी कार्यालय खुर्कोटमा दिएको उजुरीमा उल्लेख छ ।

किशोरीलाई देख्नासाथ चुम्बन गर्ने, ४०-५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको प्रहरी कार्यालयमा बुझाइएको निवेदनमा उल्लेख छ । उजुरी परेपछि विद्यालयका प्रधानाध्यापकको रोहरमा प्रहरी कार्यालयमै घटना मिलाउनका लागि छलफल भएको छ ।

‘शिक्षक मैनाली र विद्यालयका प्रधानाध्यापक विनोद सरलाई राखेर कुरा गरेका हौं, घटना मिलेको भनेर मुचुल्का भएको छैन, यस विषयमा कुनै लिखित माइन्युट गरिएको छैन,’ पीडितका दाजुलले राजधानीसँग कुरा गर्दै भने, ‘पहिला प्रहरीले निवेदन फिर्ता गरेको थियो, पछि फेरि लिएर राखेको छ ।’

विद्यालयका प्रधानाध्यापक विनोद कोइरालाले मंगलबार पीडित बालिकाका परिवार र शिक्षक मैनालीका बीचमा इलाका प्रहरी कार्यालय खुर्कोटमा छलफल भएको बताए । मैनालीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।

खुर्कोटमा भएको छलफलमा आफूले विद्यालयबाट शिक्षकलाई सरुवा गर्न माग गर्ने र पीडक भनिएका शिक्षकलाई विद्यालयमा हाजिर नगराउने प्रतिबद्धता जनाएको कोइरालाको भनाइ छ ।

उनका अनुसार शिक्षक मैनालीले २० दिनको समय मागेका छन् । पीडित पक्षको माग सरुवा मात्र भएकाले शिक्षक मैनालीलाई विद्यालयमा हाजिर नगराउने सहमतिमा टुंगिएको कोइरालाले बताए ।

यसअघि पनि छात्राप्रति यौन हिंसाको आरोप परेका मैनाली विद्यालयका स्थायी शिक्षक हुन् । उनले गरेका अनैतिक क्रियाकलापविरुद्ध विगतमा पनि विद्यार्थीले आन्दोलन गरेका थिए । उनले अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुव्र्यवहारको प्रयास गरेका थिए । त्यसबेला स्थानीय अभिभावकले उनलाई माफी मगाएर छाडेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/26959

Previous articleशीर्ष नेताहरुको ध्यान गृह र अर्थ मन्त्रालयमै, भागबण्डामा सकस
Next articleनालामा डुबेर चितवनमा शिशुको मृत्यु