सातकन्या सामुदायिक वनको १८ औं वार्षिक साधारणसभा सम्पन्न

निराजन घिमिरे, चैत्र १०, चितवन- चितवनको रत्ननगर-१६ पिठुवामा रहेको सातकन्या सामुदायिक बनको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार रत्ननगर १६ हात्तीगाड़ेमा रहेको सामुदायिक वनको कार्यालय परिसरमा सभा सम्पन्न भएको हो । उपभोक्ता समुहका अध्यक्ष रामहरी पनेरुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडाध्यक्ष हेमराज थापा र विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ, चितवन जिल्ला अध्यक्ष भरत ढुंगाना उपस्थित थिए।

त्यस्तै कार्यक्रममा अतिथिको रुपमा सव डिभिजन वन कार्यालयका वन प्राविधिक मधुसुदन तिमल्सिना, वडासदस्यहरु ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, रिता वि.क र चिजकुमार श्रेष्ठ, एकिकृत कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्याल, मुनाल सामुदायिक स्वास्थ्य शिक्षा संस्थाका अध्यक्ष लक्ष्य बहादुर गुरुङ, भद्रकाली मन्दिर संरक्षण समिति तथा भद्रकाली युवा क्लबका अध्यक्ष निराजन घिमिरे, वनका पुर्व अध्यक्षहरु दिलबहादुर थापा, तारा बहादुर नेपाल, पुर्षोत्तम लामिछाने, जितबहादुर थापा लगायत उपस्थित थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि हेमराज थापाले सामुदायिक वनले वन संरक्षण संगै पाटीपौवा निर्माण गर्न पनि जरुरी रहेको बताए । काठबाट बनेका गोलघर तथा पाटीपौवा देखिन छोडेको भन्दै थापाले चोकचोकमा काठ निर्मित प्रतिक्षालय निर्माणको लागी आग्रह गरे।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक देवबहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष रामहरी पनेरुले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पनेरुले सरकारी नीतिका कारण सामुदायिक वनहरु निरन्तर ओरालो लागीरहेको बताए । चितवनका धेरै सामुदायिक वनहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै पनेरुले कर्मचारीलाई तलब खुवाउन समेत समस्या भोग्दै आएको बताए ।

प्रस्तुत नीति तथा कार्यक्रममा सामुदायिक वनको खाली भू-भागमा वृक्षारोपण गर्ने तथा पर्यटन प्रवर्दनको लागी पार्क निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने, जिल्ला वन संग काठ खरिद गरि उपभोक्तालाई उपलब्ध गराउने लगायतका कार्यक्रमहरु समेटिएका छन् ।

कार्यक्रममा संस्थालाई विभिन्न समयमा योगदान दिने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो सम्मानित हुनेहरुमा पुर्व अध्यक्षहरु ताराबहादुर नेपाल, दिलबहादुर थापा, जितबहादुर थापा र पुर्षोत्तम लामिछाने, संस्थापक अध्यक्ष स्व. कृष्णकुमार श्रेष्ठका धर्मपत्नी जानकी श्रेष्ठ, मानार्थ सदस्य द्वय धनबहादुर नगरकोटी र चिनीमाया नगरकोटी छन् ।

संस्थाका कोषाध्यक्ष वुद्धिमान गुरुंगले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष मना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । २०५३ सालदेखि वन संरक्षण गरि २०६१ सालमा समुहमा हस्तानान्तरण भएको वनमा हाल ४८५ घरधुरी उपभोक्ता छन् ।

https://ujyaalonepalnews.com/archives/26989

Previous articleरंगशालाको विषयमा सुन्तली भन्छिन् : ‘कि मलाई सफाई देउ कि सजाय’
Next article१० महिना अगाडी जापान पुगेकी चितवनकी आरती बेपत्ता ,सहयोगको अपिल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।