बुबाको मृत्यु, आमा जेलमा, हेरचाह गर्ने कोही नहुँदा छ वर्षिय छोराको बिचल्ली

म्याग्दी- आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् । म्याग्दीको बेनीनगरपालिका–९, घतानका छ वर्षीय अवोध बालक खड्का आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेका हुन् । अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिनुभएको छ ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरे पछि निमेशकी आमा मनिषा जेल जीवन बिताइरहनु भएको छ भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गर्नुभएको छ ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएका छन् । निमेशलाई वरुवालले बेनी कै समता विद्यालयमा पढ्न पठाउनुहुन्छ । “पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटल मै राखेको छु”, बरुवालले भन्नुभयो । जेलभित्रै रहेकी निमेशकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन देशविदेशमा रहेका मनकारी व्यक्ति र सङ्घसंस्थासँग अपिल गर्नुभएको छ ।

आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालन पोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुनमान्ने उहाँले बताउनुभयो । “छोरालाई बाँच्न र पढ्न सघाउनु होला, जेलबाट छुटेपछि जीवन भर तपाईँको सेवा गर्नेछु”, मनिषाले भन्नुभयो ।

विदेशमा छु भन्दै छोरालाई फोन

कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै । अभिभावकजस्तै खराब भए पनि उसले आफ्ना सन्तान खराब होउन् भन्ने चाहँदैनन् । मनिषाले पनि आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गर्नुभएको छ ।

“आमाछोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भाबुक हुन्छु”, होटल शिखरका सञ्चालक बरुवालले भन्नुभयो । मनिषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै फर्कने बताउने गर्नुभएको छ ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ बमोजिम पुनारावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उहाँले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गर्नुभएको छ । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनिषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहनु भएको छ । आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ ।

वडाको पहलमा सहयोग जुटाइँदै

यता बेनीनगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताउनुभयो । “अवोध बालक निमेशको भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ”, वडा अध्यक्ष केसीले भन्नुभयो ।

उहाँले निमेशको नाममा माछापुच्छ्रे बैकमा खाता खोलिएकाले Nimeshkhadka, 0160969886900015 Machhapuchhre Bank Beni Branch खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाइ पूरा गर्ने बताउनुभयो । सन्तानको सबभन्दा ठूलो खुशी आमा हुने भएकाले आमाको अभाव हुननदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/27170

Previous articleसामाजिक सञ्जालमा निर्मम गालिगलौजको सामना गरिरहेकी युवतीसँग रवि लामिछानेले मागे माफी
Next articleगैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।