सहकारी लुट्ने चार जना पक्राउ

काभ्रे- काभ्रेको पनौती नगरपालिका वा नं ४ स्थित टौखालमा रहेको सामुदायिक सहकारी संस्था लिमिटेडमा वैशाख १९ गते राती १ बजे भएको चोरीमा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

२०८० वैशाख १९ गते राती १ बजेको समयमा सामुदायिक सकोसको मेन गेटको ताल्चा फोडी ३२ लाख ३१ हजार ७ सय ४५ रुपैंया चोरी भएको थियो । चोरीमा संलग्न ६ जना मध्ये ४ जनालाई काठमडौं र मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकालका अनुसार, पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का २४ वर्षीय अमृत थिङलाई काठमाडौंबाट पक्राउ गरिएको हो । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का २९ वर्षीय गम्भिर भनिने सोमलाल थिङलाई काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नं १० का स्याङजालीचोकबाट पक्राउ गरिएको उहाँले जनाकारी दिनुभयो ।

त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलका ३० वर्षीय अशोक रुम्बा र फाखेलकै ३५ वर्षीय अर्पण तामाङलाई सोही स्थानबाटै पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैंया, भरुवा बन्दुक एक थान, ५ थान मोबाइल, फालमको रड लगायतका सामग्री नियन्त्रणामा लिइएको थियो ।

जिल्ला प्रहरीका कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डी राज न्यौपाने र रेशम बोहोराको नेत्तृत्वमा खटिएको टोलीले विभिन्न अनुसन्धानको आधारमा ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका अनुसार, चोरमा संलग्न ६ जनामध्ये ४ जनालाई पक्राउ गरिएको र २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ४ जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27291

Previous articleनेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Next articleअयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।