कास्की- अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा पर्यटकीय गाउँ कास्कीको घान्द्रुकमा अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो ।
यही जेठ १७ गतेदेखि २० गतेसम्म चल्ने महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९८ किमी) को म्याराथन हुने भएकोमा तयारी ८० प्रतिशत सकिएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । यसवर्ष हुने म्याराथन साथै महोत्सव तेस्रो संस्करणको हो ।
म्याराथनको रुट अन्नपूर्ण आधारशिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक पुगी समापन हुने तय गरिएको छ ।
अल्टिमेट एडभेन्चर नेपालको मुख्य प्रायोजनामा हुने उक्त प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा प्रथम हुनेलाई रु.१ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र वितरण गरिने महोत्सव संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवको अवसरमा गाउस्तरीय पुरुष भलिबल, पुरुष बास्केटबल, घैंटो फुटाउने, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, म्यूजिकल चियर लगायतका खेलकुद गतिविधिहरु पनि हुनेछन् ।
भलिबल र बास्केटबलतर्फ प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाइएको छ ।
त्यसैगरी अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण, परम्परागत गुरुङ सस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, विभिन्न झाँकी प्रर्दर्शनी, घोडा चढी घान्द्रुक घुम्ने लगायत पर्वतिय साहसिक खेलको पनि आयोजना गरिएको छ । महोत्सव सम्पन्न गर्न ८० लाख खर्च लाग्ने अनुमान छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिन अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर महोत्सव साथै म्याराथन आयोजना गरिएको हो ।
https://ujyaalonepalnews.com/archives/27371


