प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति

काठमाडौं- कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ ।

“जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिनेछ । जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका क्रियाकलापलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथाम गरिनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “कानून तर्जुमा गरी कार्बन व्यापारमा जोड दिइनेछ । प्लास्टिक झोला प्रतिस्थापन गरी स्वदेशी कागजको झोला उत्पादन तथा प्रयोगलाई अभियानको रूपमा सञ्चालन गरिनेछ ।”

जलवायु परिवर्तनका मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । “अल्पविकसित तथा हिमाली देशमा जलवायु सङ्कटले उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निर्माणको पहल गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ । ‘हिमाल बचाऔँ अभियान’ शुरु गरिने पनि उल्लेख छ ।

नेपालको हिमशृङ्खलादेखि पहाड तथा तराईसम्म जलवायु परिवर्तनबाट परेको प्रतिकूल असरलाई न्यूनीकरण तथा वातावरणीय संरक्षण संवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/27399

Previous articleबहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म, सबै सङ्घीय अस्पताललाई शिक्षण अस्पताल बनाइने
Next articleनेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाहलगाएत चार पत्रकार सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।