खैरहनीका जनप्रतिनिधिको एकवर्ष: आर्थिक वर्षको १० महिना बित्दा ४७ प्रतिशत खर्च

0
74

निराजन घिमिरे- खैरहनी नगरपालिकाले जनप्रतिनिधिहरुले पदबहाली गरेको एकवर्ष पुगेको अवसरमा सो समयको कार्यप्रगती सार्वजनिक गरेको छ । सोमबार नगरापालिककामा आयोजित पत्रकार सम्मेलनमा मेयर शशी खनियाँले एकवर्षे प्रगती विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको प्रगती विवरणमा चालु आर्थिक वर्षको १० महिनामा कुल बजेटको ४७.८० प्रतिशत खर्च भएको जनाईएको छ । नगरपालिकाले चालु आर्थिकवर्ष २०७९/८० को लागी बिनियोजन गरेको एक अर्ब छत्तीस करोड तेईसलाख अठहत्तर हजार बजेट मध्ये वैशाख मसान्त सम्ममा कुल पैसठ्ठी करोड बाह्रलाख पचासी हजार खर्च भएको नगरप्रमुख खनियाँले जानकारी दिए ।

त्यस्तै नगरपालिकाले सोही अवधीमा कुल बाह्र करोड बाउन्न लाख अठासी हजार पांच सय रुपैँया राजस्व संकलन गरेको छ । जुन लक्षित राजस्वको ७९.२६ प्रतिशत हो ।  नगरप्रमुख खनियाँले जारी गरेको १३० बुँदे प्रगती विवरणमा विद्यालयमा कोचिंग क्लास पढाएको देखि अन्तर्क्रिया गरेको विषय सम्मलाई प्रगतीको रुपमा प्रस्तुत गरिएको छ । नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद कार्यक्रम तर्फ विद्यालयमा अतिरिक्त कक्षा संचालन गरिएको, रनिंगशिल्ड प्रतियोगिता संचालन, थारु, दलित, अल्पसंख्यक, अपाङ्ग र विपन्न विद्यार्थीहरुलाई छात्रवृति, ९१ जना शिक्षकको आन्तरिक सरुवा, खैरहनी माविमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापनको तयारी, सामुदायिक विद्यालयका पाठ्यपुस्तकमा एकरुपता, ओपन जिमशाला निर्माण लगायतका कार्यक्रम सम्पन्न हुने चरणमा रहेको बताइएको छ ।

त्यसैगरी स्वास्थ्य तर्फ एम्बुलेन्स सेवा संचालन,  बा-आमा स्वास्थ्य कार्यक्रम, ल्याब स्थापना, स्वास्थ्य केन्द्र निर्माण लगायतका काम भएको जानकारी दिईएको छ । कृषि विकास तर्फ लागत साझेदारीमा विउ प्रशोधन केन्द्र स्थापना, ड्रायर मेसिन वितरण, कृषि उपकरण वितरण, बाली बिमा कार्यक्रम, बोरिंग तथा कुलो निर्माण जस्ता काम भएको बताईएको छ । पशुसेवा तर्फ उपकरण वितरण, गाई श्रोत केन्द्रको स्थापना, पशु स्वास्थ्य शिविर, घाँसको बिउ वितरण, बोका वितरण, सईलेज मेसिन, दुग्ध चिलिंग सेन्टर स्थापना लगायतका कार्य भएको नगरप्रमुखखनियाँले जानकारी दिए ।

पूर्वाधार तथा योजना तर्फ नाला सहितको अपाङ्गमैत्री बाटो निर्माण, पुल निर्माण, रोद मार्किंग, सडक कालोपत्रे, वडा कार्यालय निर्माण, चौबिसकोठी चोकमा हाईमास लाईट जडान, विभिन्न खोलाहरुमा तटबन्धन लगायतका कामहरु भएका छन् । यस्तै आमाबुबा विहिन बालबालिकाहरुलाई नगद वितरण, ह्विल चेयर वितरण, कौसी खेती तालिम, महिलाहरुलाई पत्रकारिता तालिम, लोकसेवा तयारी कक्षा संचालन लगायतका कार्यहरु सम्पन्न भएका छन् । 

यसैगरी विपद सुचना प्रणाली स्थापना, जग्गाको निस्सा वितरण, ऐलानी जग्गाको नापजाँच,काम नगर्ने ठेकेदार संगको सम्झौता रद्द, सिसिटिभी क्यामेरा जडान, वडा बाटै सम्पती कर तिर्ने व्यवस्था, नगरपालिकालाई पेपरलेस बनाउने कार्य अघि बढेको, जीपीएस सिस्टम निर्माण गरिएको, विभिन्न सफ्टवेयरहरु निर्माण गरिएको जस्ता कार्यहरु प्रगती विवरणमा समावेश गरिएको छ । नगरपालिकाले महिलाका नाममा दर्ता हुने उधोग तथा व्यवसायिक फर्महरुलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने नीति ल्याएकोमा यस अवधीमा २६४ वटा उधोग तथा व्यवसायहरु महिलाका नाममा दर्ता भएका छन् । यसैगरी नगरपालिकाले यो अवधीमा विभिन्न सिपमुलक तथा आयआर्जनमुलक तालिमहरु संचालन गरिएका छन् । यस्ता कार्यक्रम अन्तर्गत व्युटिपार्लर तालिम, हाउस वायारिंग, टायलमार्वल लगाउने तालिम, ड्रागनफ्रुट खेती तालिम, बंगुर पालन तालिम तथा च्याउ खेती सम्बन्धी तालिम संचालन भएका छन् ।

नगरपालिकाले यो अवधीमा १३१ जना विपन्न परिवारको खरको छाना हटाई जस्ताको छाना लगाएको छ । यस्तै १९ जना विपन्न परिवारलाई घर निर्माण सम्पन्न भएको छ भने १५० घरपरिवारको लागी शौचालय निर्माण गरिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/27484

Previous articleमन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई परीक्षा अनुमति
Next articleराष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी