उज्यालो नेपाल, जेठ १३- चितवनको रत्ननगर पिठुवामा रहेको लायन्स क्लब अफ पिठुवा चितवनले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै क्लबले वडा नं. १६ कार्यालय संगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा ४२ जना पुरुष र २० जना महिला गरि ६२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक संदिप सिग्देलले जानकारी दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष हेमराज थापाले क्लबले रक्तदान जस्तो पुण्यको कामको लागी प्रस्ताव राखेपछि वडाकार्यालय संगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता पुनित कर्महरु सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए।
कार्यक्रम कि सभापति समेत रहेकी क्लबका द्दितीय उपाध्यक्ष संगीता खड्काले हामीले दिएको रगतले एकजनाको मात्र ज्यान जोगिएपनी ठुलो पुण्य प्राप्त हुने बताईंन् । कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता वि.क, ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाकी सहसचिव सिता नेपालले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिईन्।
https://ujyaalonepalnews.com/archives/27597


