अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा

सुनसरी- दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उहाँले बताउनुभयो ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताउनुभयो । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

https://ujyaalonepalnews.com/archives/27800

Previous articleसद्‍भावना अभिवृद्धिमा केन्द्रित रहन्छ: प्रधानमन्त्री दाहाल
Next articleकोशी प्रदेश: स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा एवं समर्थन फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।