निराजन घिमिरे- चितवनको राप्ती नगरपालिकाले संचालन गरेको ‘ छोरीबुहारी पढाउने कार्यक्रम’ मा पुरुष व्यक्तिले पनि लाभ लिएको खुलेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा यस कार्यक्रमको लागी २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
विनियोजित बजेटबाट राप्तीकै बुद्धशान्ती क्याम्पसमा संचालित ‘ छोरीबुहारी पढाउने कार्यक्रम’ मा ६० जनालाई प्रतिव्यक्ति बत्तीस हजार छ सय रुपियाँको दरले छात्रवृति प्रदान गरिएको छ । कार्यक्रमको उद्देश्य अनुरुप छात्रवृति पाउने सबै ६० जना महिला हुनुपर्नेमा त्यसको विपरित १४ जना पुरुषलाई समेत सोहि कार्यक्रममा सहभागी गराई छात्रवृति प्रदान गरेको पाईएको हो।
महालेखाको भर्खरै प्रकाशित २०७८/७९ को लेखाप्रतिवेदनमा नगरपालिकाले लाभग्राही छनौट गर्दा गरेको त्रुटिको कारण लक्षित वर्ग सम्म कार्यक्रम पुग्न नसकेको औल्याईएको छ । साथै महालेखाले त्यो वर्ष छात्रवृति पाएका विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिएको वा नदिएको भन्ने विषयमा समेत अनुगमन नगरेको जनाईएको छ ।
आयआर्जन शिर्षकको बजेट भ्रमण र गोष्टिमा
स्थानिय सरकार संचालन ऐन २०७४ ले बजेट निर्माण गर्दा जुन उद्देश्यले बजेट विनियोजन गरिएको हो, त्यहि उद्देश्य प्राप्तीको लागी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । तर त्यसको बिपरित राप्ती नगरपालिकाले एउटा कार्यक्रमको लागी छुट्याएको बजेट अर्कै कार्यक्रममा खर्च गर्ने पाईएको छ ।
नगरपालिकाले उत्पिडन दलित आयआर्जन कार्यक्रमको लागी छुट्याईएको बजेट भ्रमण र गोष्ठीमा खर्च गरेर सकेको हो । कार्यक्रमको उद्देश्य अनुसार ‘सम्बन्धित वर्गलाई सिपमुलक तालिम दिई आयआर्जन वृद्धि गरि आत्मनिर्भर बनाउन’ बजेट खर्च गर्नुपर्नेमा आर्थिक वर्षको अन्तिममा ‘बजेट सक्न’ कै लागी भ्रमण र गोष्ठीको लागी रकम खर्च गरिएको हो ।
उत्पिडन दलित आयआर्जन कार्यक्रमको लागी छुट्याईएको बजेट बाट पर्यटकिय क्षेत्र भ्रमणमा दुई लाख साठी हजार र गोष्ठीको लागी २ लाख रुपियाँ खर्च गरेको पाईएको छ।
मेलमिलापको भ्रमणमा दोहोरो भत्ता
भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण भत्ता भुक्तानी भएको अवधीमा अन्य कुनै भत्ता भुक्तानी गर्न नमिल्ने व्यवस्था छ । तर त्यसको विपरित नगरपालिकाले मेलमिलाप केन्द्रका ११ जनाको टोली सात दिने भ्रमण गएको समयमा भ्रमण भत्ता बापत सतहत्तर हजार रुपियाँ भुक्तान गरिसकेपछि पनि पुन: लज भाडा भनेर भुक्तानी दिएको पाईएको छ । महालेखाले पुन: भुक्तान गरिएको रकम निजहरु बाट असुलउपर गर्नुपर्ने बताएको छ ।
https://ujyaalonepalnews.com/archives/27891


