Home Blog Page 77

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत, काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

समृद्ध कालिका निर्माणको लागी प्रधानमन्त्री प्रचण्ड र मेयर रेग्मीबीच भेटवार्ता

रत्ननगर, चैत्र १२ । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रिशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने समावेशी विद्यालय स्थापना, त्रिशुली डाईभर्सन तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

साथै, सोमवार मेयर रेग्मीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय बहिरा महासंघका पूर्व अध्यक्ष केपी अधिकारी, डा. बाबुराम ढुङ्गानासंग पनि भेटवार्ता गरेकाछन् ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले नगरको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट लगाएतका विषयमा सकारात्मक प्रतिक्रिया दिएको मेयर रेग्मीले जानकारी दिए ।

होली खेल्ने क्रममा ग्याङ फाइट, २ जनाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कालिकाको सुरक्षा र समृद्धिको लागी मेयर रेग्मीको दौडधुप; गृहमन्त्री सँग भेटवार्ता

कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरको समग्र शान्ति सुरक्षा तथा विकास निर्माणका विषयमा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी छलफल गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्री लामिछानेसँग भेट गरी शान्तिसुरक्षाको लागि प्रहरी कार्यालय स्थापना र विकास निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले गृहमन्त्रीसँग आफुले कालिका नगरपालिकाको समग्र सुरक्षालगायत विकास निर्माण तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

भेटमा उनले नगरपालिकामा प्रहरी निरीक्षक (ईन्सपेक्टर) सहितको दरबन्दी रहने गरी प्रहरी कार्यालय स्थापना गर्न पनि माग गरेका छन् ।

उनले उक्त विषय समेटेर गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । ध्यानर्कषणपत्र बुझेपछि गृहमन्त्री लामिछानेले स्थानीय सरकार प्रमुखले राखेको प्रहरी कार्यालय स्थापना तथा विकास निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कालिकामा अजम्बरीको रक्तदान: ६२ युनिट रगत संकलन

रत्ननगर । कालिका नगरपालिका वडा नं ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. र सिराइचुली दुग्ध चित्स्यान उत्पादक सहकारी संस्था लि.को सहआयोजना भएको कार्यक्रम १४ जना महिला सहित ६२ जनाले रक्तदान गरेको अजम्बरीकी कोषाध्यक्ष निर्मला खड्काले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति राजन रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाले बार्षिक रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा लगातार पाँच पटक सम्म रक्तदान गर्ने भगवती अम्गाई, कमला घिमिरे, गोविन्द दुलाल, रुद्रलाल चौलागाईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं ६ का वडासदस्य लक्ष्मीनारायण चौलागाई र अजम्बरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र कँडेलले उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

उद्घाटन कार्यक्रममा अजम्बरका संस्थापक अध्यक्ष कृष्ण भट्ट, पूर्व अध्यक्ष पासाङ, निर्वतमान अध्यक्ष गिरीराज केसी कँडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष हरिप्रसाद दंगालले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । अजम्बरीका अध्यक्ष कंडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव साजन थापामगरले सञ्चालन गरेका थिए ।

श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक शीतलकृष्ण महाराज

काठमाडौँ । कथावाचक शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बताएका छन् । शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै उनले संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको बताएका छन् ।

आफूले गृहस्थी चलाउन नसकेको प्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । उनले केही दिनअघि श्रीमतीले पत्रकार सम्मेलनमार्फत लगाएका आरोप निराधार र सत्य नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा भनेका छन्- ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरु सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरुलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’

कथाबाचक शीतलकृष्णप्रति उनकी श्रीमती सुकृति पौडेल भुसालले केही दिनअघि पत्रकार सम्मेलन गरी विभिन्न आरोपहरु लगाएकी थिइन् ।

आईपीएलमा चेन्नाइको विजयी सुरुआत

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ ।

चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो ।

आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।

चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए ।

आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ : ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

सौराहाको गैंडा स्थानान्तरण प्रति रत्ननगरका मेयर सापकाेटाकाे आपत्ती

रत्ननगर, चैत्र ९ । चितवन राष्ट्रिय निकुञ्जबाट काेशीमा गैंडा स्थानान्तरण गरिएकाेप्रति रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले आपत्ती जनाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले साैराहाकाे बस्तीमा हुर्किएकाे भाले गैंडा काेशीमा स्थानान्तरण गर्ने निर्णय गरेकाे थियाे । उक्त गैंडा आजै काेशी लैगिदै छ । मेयर सापकाेटाले साैराहाकाे पर्यटनलाई असर गर्ने गरि गैंडा अन्त लैजान लागिएकाे भन्दै आपत्ती जनाएका हुन ।

‘साैराहाले हुर्काएकाे गैंडा थपक्क उठाएर अन्त लैजाने अधिकार कसैलाई छैन्’ उनले भने, ‘याे कार्यप्रति मेराे पूर्ण असहती छ ।’

गैंडा स्थानान्तरण गर्दा स्थानीय सरकारसंग समन्वय नगरिएकाे भन्दै उनले आर्थिक मन्दीमा कारण पर्यटन व्यवसाय सुस्ताएकाे बेला गैंडा स्थानान्तरण गरिनु गलत भएकाे उनकाे भनाई छ ।

‘साैराहामा गाउँमै गैंडा हेर्न पाईन्छ, पर्यटकले गैंडालाई स्पर्श गर्ने साैभाग्य प्राप्त गरेका छन् मेयर सापकाेटाले भने, पर्यटक रमाउने गैंडालाई अन्त लैजानु दुर्भाग्य हाे’ ।

मेयर सापकाेटाले स्थानान्तरण राेक्न प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनलाई आग्रह समेत गरेका छन् ।

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः लखनउ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

चितवन, चैत ९– चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

लखनउँले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाए भने रोशन झाले ३१ र विकल कुमार गुप्ताले २१ रन बनाए ।
लखनउँका लागि कार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिदै २ विकेट लिए भने शरिमले ४ ओभरमा १३ रन खर्चिदै २ र प्रिन्स साहीले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुप लखनउँले २ खेलाडीको अर्धशतकको मद्धतमा ९ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो । लखनउँका लागि निखिल रावले ६९ रनको विष्फोटिक अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए ।

उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिन पुगेका थिए । कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए । समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए ।

लखनउँका ३ खेलाडी शून्यमा आउट भएका थिए । लखनउँले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैठौं विकेटको लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो । लखनउँले अन्तिममा २०४ रन बनाउँदा लगातार ३ विकेट गुमाउन पुगेको थियो ।

भरतपुरका लागि नयन प्रधानले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र २६ रन खर्चिएका थिए भने १३ डट बल फालेका थिए । उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चिदै २ विकेट लिए भने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए ।

यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । मधेशका लागि ओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए ।

२० बल खेलेका साहिलले ३ चौका प्रहार गरे । निरज यादवले २४ र रोशन वि.क.ले २३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मेधश पराजित हुन पुग्यो । ३३ रनमा पहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिन नसक्दा लक्ष्य भेट्टाउन सकेन ।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने युवराज खत्रीले २ ओभरमा १५ रन र भोजराज भट्टले ४ ओभरमा १८ रन खर्चिदै समान २ विकेट लिए । नरेन साउद र बसन्त खत्रीले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

उसका लागि बसन्त कार्कीले सर्वाधिक ४३ रन बनाए । २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विष्फोटक पारी खेले । ओपनर दिपक बोहोराले २३ बलमा २७ रनको पारी खेले । बसन्त कार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

मधेशका लागि प्रदीप पासवानले २ विकेट लिए भने प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए । पहिलो जितसंगै प्रतियोगितामा लखनउँ नेटरनरेटको अधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनलाई हाजिरी जमानतमा छोडिएको अधिकृतहरु बताउँछन् ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।