काठमाडौँ । कथावाचक शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बताएका छन् । शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै उनले संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको बताएका छन् ।
आफूले गृहस्थी चलाउन नसकेको प्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । उनले केही दिनअघि श्रीमतीले पत्रकार सम्मेलनमार्फत लगाएका आरोप निराधार र सत्य नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा भनेका छन्- ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरु सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरुलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’
कथाबाचक शीतलकृष्णप्रति उनकी श्रीमती सुकृति पौडेल भुसालले केही दिनअघि पत्रकार सम्मेलन गरी विभिन्न आरोपहरु लगाएकी थिइन् ।



