Home Blog Page 65

कालिकाको सहपुर विद्यालयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर

कालिका,जेठ २० – पुर्वी चितवनको कालिका नगरपालिका -२ स्थित आधारभुत विद्यालय सहपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कालिका भजन समुह र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा सम्पन्न सो शिविरमा पाठेघरको मुखको क्यान्सर तथा पेट, छाति र टाउको सम्बन्धि नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो ।

शिविरमा कालिका नगरपालिकाका २,३,४ र ५ नम्वर वडाका गरि करिब दुई सय जना भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको थियो।

कालिका भजन समुहका अध्यक्ष एकानन्द उपाध्यायको सभाध्यक्षता रहेको सो कार्यक्रममा कालिका-२ का वडा अध्यक्ष लक्ष्मण पौडेल प्रमुख अथितिको रुपमा रहेका थिए।

विगत लामो समय अघि देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको कालिका भजन समुहले करिब एक बर्षको समयमा गरेको यो आठौं सामाजिक कार्य हो ।

गत बर्ष धर्म र संस्कृतिको संरक्षणका लागि भन्दै खेलिएको देउँसी भैलो बाट संकलित रकम बाट नै सो शिविर संचालन गरिएको कार्यक्रम संयोजक गोपाल प्रसाद श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कालिका भजन समुहले सक्रियता पुर्वक सामाजिक कार्यहरु गर्दै आइरहेको र न्युन स्तर भएका वडाबासीहरुका लागि यो शिविर अत्यन्तै लाभदायक रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य केशव चालिसेले राख्नुभएको थियो।

विभाजनको संघारमा लघुवित पिडित; रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

उज्यालो नेपाल- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ ।

समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ ।

यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा एकतर्फी निर्णय गराउन खोजिएको भन्दै फेरि प्रथम राष्ट्रिय सम्मेलन गर्न माग गरेका थिए ।

असन्तुष्ट समुहले, “समितिको आर्थिक, संगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएको, निर्वाचन समितिले केन्द्रीय समिति गठन नगरी ३५ सदस्यीय सचिवालय गठन गरेको, अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको मागपत्रमा राजनीतिक झलक देखिएको, निर्वाचन समितिले उमेदवारी दिने वातावरण सृजना नगरेको, आन्दोलन परिचालन निर्देशिकामा माथि छलफल र बहस हुन नदिएको, अध्यक्षलाई कार्यकारी अधिकार प्रदान गरेको भन्दै विरोध जनाएको थियो ।

असन्तुष्ट समुहको नेतृत्व गरिरहेका केन्द्रिय सचिव तामाङ र चितवन जिल्ला अध्यक्ष सुधा पाठक लगायतलाई निष्कासन गरेपछि असन्तुष्ट समुहले प्रथम राष्ट्रिय सम्मेलन आव्हान गरेको हो । आफुलाई ‘लघुवित्तको ऋणीनै नभएको, आर्थिक पारदर्शिता नराखेको र व्यक्तिगत आरोप लगाएर मणिराम समुहले निष्काशन गरेको भन्दै अध्यक्ष पाठकले आक्रोश व्यक्त गरिन् ।

यस्तै संघर्ष समितिका लुम्बिनी प्रदेश संयोजक प्रदिप दलामीले, ‘संघर्ष समितिका नेतृत्वकर्ता मणिराम ज्ञावली नै सहकारी खोली महिला दिदीबहिनीहरुबाट रकम संकलन गरि आर्थिक अपचलनमा उद्दत देखिएपछी सो कुराको सोधखोज गर्नेहरुमाथि ज्ञावलीले कारबाही चलाएको आरोप लगाए ।

उनका अनुसार ज्ञावलीले प्युठानमा गौमुखी सहकारी संस्था स्थापना गरि स्थानीय ३०-४० जना महिलाहरु बाट २ लाख भन्दा बढी रकम संकलन गरि अपचलन गरेको र सो घटना बारे रमेश तामाङ र सुधा पाठकको टिमले सोहि स्थानमा गएर सत्यतथ्य पत्ता लगाएपछि आक्रोशित ज्ञावलीले विभिन्न आरोप लगाउँदै आफुहरुलाई निष्काशन गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेश संयोजक खुमराज वि.क, सम्मेलन आयोजक समिति संयोजक रमेश तामाङ, बागमती प्रदेश संयोजक सुधा पाठक लगायतले आन्दोलनको औचित्य र भावी रणनीति बारे धारणा राखेका थिए ।

नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्नेलगायत माग राखेर लघुवित्त संस्थाबाट पीडितहरु विगत दुई वर्षदेखि आन्दोलित छन् ।

 

रैथाने माैरी जाेगाउन विकट बस्तीमा आधुनिक घार

रत्ननगर । चितवनकाे इच्छाकामना गाउँपालिकामा रैथाने माैरी संरक्षणका लागि स्थानीय किसानलाई माैरीकाे आधुनिक घार वितरण गरिएकाे छ ।

काठकाे मादले घारमा माैरीपालन गरिरहेका किसानहरुलाई आधुनिक घार वितरण गरिएकाे हाे । गाउँपालिका र सपना भिलेज साेसल इम्प्याक्टले सयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरिएकाे हाे ।

साे गाउँपालिकाकाे वडा नं २ काे घुर्केसका २० घरधुरी र साेही वडाकै काउलेका २० घरधुरलाई पालिकाकाे ५० प्रतिशत र सपनाकाे ५० प्रतिशत लगानीमा घार वितरण गरिएकाे सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानहरुले घरकाे भत्ता, रुखकाे धाेद्राे, काठकाे मादले घरमा माैरी पालन गरि मह उत्पादन गर्दै आएका छन् ।

आधुनिक माैरीपालन मार्फत महकाे उत्पादन बढाउने उद्देश्य रहेकाे छ । घारसंगै माैरीपालनकाे लागि आवश्यक पर्ने औजार समेत प्रदान गरिएकाे छ ।

सुपर घार सहित टाेपी, पन्जा, धुवादानी, आधारचाका प्रदान गरिएकाे गिरीले जानकारी दिए । साेही वडाकाे मायाटार पर्यटकीय स्थलकाे रुपमा विकास भएकाे छ ।

यहाँ दैनिक १५० स्वादेश पर्यटकहरु आउने गरेका छन् । यहाँ आउने पर्यटकहरुले प्राकृतिक सम्पदाकाे अबलाेकन र परम्परागत खानामा रमाउने गरेका छन् ।

मायाटारकाे निकटमा रहेका बस्तीहरु पर्यापर्यटनकाे विकासकाे लागि रैथाने माैरी संरक्षणकाे काम सुरु गरिएकाे हाे । माैरीसंंगै माैरीकाे स्राेत संरक्षण गरेर रैथाने माैरी जाेगाउनु पर्ने देखियाे सपनाका अध्यक्ष गिरीले भने व्यवसायिक माैरी पालनका लागि हाेइन रैथाने माैरी जाेगाउन घार दिएका हाै ।

मायाटार र यस आसपासका क्षेत्रमा चरीचरणकाे लागि चिउरी, लालिगुरास, टाकी, पड्के, रुदिलाे, किम्बु, चिलाउने जस्ता वनस्पती माैरीपालनकाे स्राेत हाे ।

विकट बस्तीमा उत्पादन भएकाे चिउरीकाे महकाे राम्राे बजार रहेकाे छ । घार वितरण पूर्व सपना भिलेजले माैरीपालन गरिरहेका किसानहरुलाई दुइदिने तालिम समेत दिएकाे सपना भिलेज साेसल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

शुक्रबार तीन छुट्टाछुट्टै कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ र सपनाका अध्यक्ष गिरीले घार हस्तान्तरण गरेका थिए ।

साे अबसरमा गाउँपालिकाका अध्यक्ष गुरुङले रैथाने माैरीकाे संरक्षण, स्थानीय समुदायकाे जीविकाेपार्जन, पर्यापर्यटनकाे विकासकाे लागि माैरीकाे घार प्रदान गरिएकाे बताए ।

यस अघि सपना भिलेजले कालिकाकाे सिद्धिमा २० घरधुरीलाई ४०० घार माैरी वितरण गरेकाे थियाे । ४० लाख लगानी गरि पाँच बर्ष अघि नगरपालिकासंगकाे सहकार्यमा चेपाङलाई घार वितरण गरिएकाे थियाे ।

पूर्वीचितवनमा १ सय ५० किलो लागुऔषध गाँजासहित बोलेरो प्रहरी नियन्त्रणमा

चितवन, जेठ १८ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ खुरखुरेबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको बोलेरो नियन्त्रणमा लिएको छ ।

प्रहरीले खुरखुरे सडक खण्डबाट बिआर २२ क्यू ४३४१ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरोबाट १५० किलो लागुऔषध गाँजा शुक्रबार बरामत गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी डा. हेम केसीले जानकारी दिए ।

शुक्रबार राती १२:३० को समयमा शंका लागी चेकजाँच गर्न खोज्दा बोलेरो चालक फरार भएको र बोलेरो भने प्रहरीको नियन्त्रणमा रहेको केसीले बताए ।

वर्षासँगै चलेको भिषण हावाहुरीले रत्ननगरमा बालीनालीमा क्षति

उज्यालो नेपाल- वर्षा संगै चलेको भिषण हावाहुरीले रत्ननगरमा बालीनालीमा क्षती पुर्याएको छ। वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, मकै, आँप लिच्ची लगायतको बालीनालीमा क्षति पुर्‍याएको हो ।

भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाका १६ वटै वडाका किसानले लगाएको विभिन्न बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको कृषि शाखा प्रमख प्रविन लामाले जानकारी दिए । क्षतिको विवरण संकलन गर्न अनुगमन गर्ने कार्य भईरहेको उनले बताए ।

रत्ननगरकै वडा नं. १५ मा हावाहुरीले केहि घरको जस्ता उडाएको छ भने मकै खेतीमा व्यापक क्षेती पुर्याएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल भएको वडा अध्यक्ष आशिक तामाङले बताए ।

हाल हावाहुरीले सखाप बनाएर ढालेको धान, मकै तथा फलफूलको तस्बीर सामाजिक संजालमा छाइरहेको छ ।

 

 

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको हो।

पर्सा प्रहरीका नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बिहीवार राति आफ्नै घरको पिढीमा बसिरहेका बेला हुरीले छिमेकीको घरको जस्तापाताको छाना लागेर साह गम्भीर घाइते भएका थिए।

घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको न्यौपानेले बताए।

यस्तै बहुदरमाई नगरपालिकामा पनि हवाहुरीले क्षति पुर्‍याएको छ।

हावाहुरीले वडा नम्बर ५ बर्वा टोलमा रहेको एक घरको छानो खसेको छ। छानोमा च्यापिएर ९ जना घाइते भएका छन्। घटनाबारे भने विस्तृत जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। यस्तै वडा नम्बर ७ भौराटारमा रहेको एनसेलको टावर पनि ढलेको छ।

प्रहरीलाई प्राप्त विवरण अनुसार एनसेलको टावर ढलेर च्यापिदा एक पुरुष गम्भीर घाइते भएका छन्। उनको पहिचान भने खुलेको छैन। उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

बिहीवार रातिको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको न्यौपानेले जानकारी दिए।

अमेरिकी दूतावासले सन्दीपलाई फेरी दिएन भिसा, समर्थकहरु निराश

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।

अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

रत्ननगरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना घाईते

उज्यालो नेपाल- रत्ननगरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना घाईते भएका छन् ।

हिजो बुधवार बिहान झन्डै पौने नौ बजे रत्ननगर १३ अमिलियामा टांडी बजार तर्फ गईरहेको बा.प्र.०३-००३प ३६१ नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिंदा साईकलमा सवार २ जना र मोटरसाइकल चालक समेत गरि ३ जना घाईते भएका हुन् । उनिहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको छ ।

यसैगरी बुधबार साँझ सवा पाँच बजेको समयमा रत्ननगर ९ भानुचोक नजिक भित्रि सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाइकल पछाडि सवार रत्ननगर .४ देवौली बस्ने सालु राउत घाईते भएकी छन्।

टाउकोमा गहिरो चोट लागेकी राउतको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । मोटरसाईकल चालक  रत्ननगर बस्ने सागोर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बुधबार नै राती झन्डै १० बजे टाँडीबाट सौराहा जादै गरेको ना २ ह.३१९४ नं.को अटो आंफै अनियन्त्रित भई दुर्घटना हुंदा अटो चालक जिल्ला चितवन रत्ननगर न.पा.२ बस्ने बुद्धिमान लामा र अटोमा सवार नवलपरासी बर्दघाट न.पा.४ बस्ने बिन्दु गौतम घाइते भएका छन् ।

घाइते अटो चालकको अवस्था सामान्य रहेको र अर्का घाईते बिन्दु गौतमलाई थप उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरी स्रोतका अनुसार जिल्ला अदालत धनुषाबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेको बुझिएको छ।

विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियालाई वंशजको आधारमा कसरी नागरिकता दिइयो भन्ने आरोपमा दुबै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

 

टिकौली जंगलमा एक व्यक्ति मृत अवस्थामा फेला

रत्ननगर- चितवनको भरतपुर भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने खगेरी खोला नजिकै टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।

हिजो मंगलवार जंगल भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए  ।

प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।