विश्वासको मत विरुद्ध परेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाइ हुने भएको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हिजो नभ्याएका कारण आजका लागि राखिएको हो । रिट निवेदकको तर्फबाट १३ जना वकिलहरुले हिजो बहस गर्नुभयो ।

बहसमा भाग लिदै निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गर्नु भयो । उहाँहरुले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने दाबी गर्नुभयो ।

हिजो निवेदकका तर्फबाट बहस सकिएकाले आज मुद्दामा प्रत्यर्थीका कानुन ब्यवसायीले बहस गर्ने छन् । बहसका लागि इजलासले निवेदक र प्रत्यर्थीका वकिलहरुलाई चार चार घण्टाको समय तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/31049

Previous articleएमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि आज ९ बजेदेखि मतदान हुँदै
Next articleशिक्षक सरुवा प्रति असन्तुष्टि जनाउँदै रत्ननगरका विद्यार्थी आन्दोलित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।