गुल्मीमा एक दशकपछि टिकट काउन्टर भवन सञ्चालनमा

गुल्मी- गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित उदिनढुङ्गामा रहेको बसपार्क व्यवस्थित नभएका कारण चोकचोकमा यातयात व्यावसायीका काउन्टर थिए । अहिले उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकपछि निर्माण भएको छ ।

बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीलाई सहज भएको छ । पहिले बिभिन्न ठाउँमा टिकट काउन्टर राख्ने व्यवसायीलाई बसपार्क मै राख्न पाउदा सहज भएको गुल्मी यातायात प्रालिका सञ्चालक सदस्य महेशराज भण्डारीले बताउनुभयो ।

उहाँले भवन सञ्चालनमा आएपनि गाडीहरु बसपार्कमा यात्रु झार्न र चढाउनका लागि अझै व्यवस्थित नभएको बताउनुभयो । बसपार्क क्षेत्र कालोपत्रे र सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या रहेको भण्डारीको भनाइ छ ।

बसपार्क भवनको लागि ०७१ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरिएको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको थियो ।

तर अहिले डिजाइन परिर्वतन गरेर टिकट काउन्टर भवन मात्रै निर्माण भएको छ । जसमा टिकट काउन्टर र केहि कोठाहरु तयार भएका छन् ।

लामो समयसम्म अलपत्र टिकट काउन्टर भवन नगरपालिका र बसपार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा भवन धेरै समयपछि निर्माण भएको बताउनुभयो ।

भवन निर्माण भएर केहि समय अलपत्र हुँदा तोडफोड समेत हुन थालेको थियो । बसपार्क व्यवस्थित नहुँदै नगरपालिकाले भवनको संरक्षणका निम्ति भएपनि काउन्टर मात्रै सञ्चालन गरिएको वडाअध्यक्ष थापाको भनाइ छ ।

अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वषौंदेखि सास्ती खेपिरहेका छन् । अहिले पनि बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय र सडक कालोपत्रे भएको छैन् । जसले गर्दा अझैपनि समस्या रहेको छ ।

बसपार्क करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तम्घास बजारका बिभिन्न स्थानमा संरचना निर्माणका निम्ति ५० करोड रुपैयाँ बिनियोजन भएको छ । जसबाट देउरालीदेखि सिमीचौरसम्म सडक कालोपत्रे र तम्घास बजारको उदिनढुंगा बसपार्क कालोपत्रे, शौचालय निर्माण लगायत नगरमा अरु ठाउँमा पनि संरचना निर्माण गरिने रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतदेवी कुँवरले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/31563

Previous articleप्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट चितवनका सुवास पण्डित पुरस्कृत हुँदै
Next articleबेसारमा चामलको कनिका मिसाएर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।