सिरहा- सिरहाबाट मंगलबार बिहान फेरि तस्करी गरेर ल्याइएका अवैध कपडा बरामद भएको छ । सिरहा नगरपालिका-१८ स्थित तारापट्टीबाट ७८ पोका अवैध कपडा बरामद भएको हो ।
गोठमा लुकाएर राखिएको अवस्थामा बरामद भएको उक्त कपडा १ करोड ५६ लाख रुपैयाँ बराबरको रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताए ।
राजस्व अनुसन्धान कार्यालय इटहरीको सूचना र निर्देशनका आधारमा सशस्त्र प्रहरीको टोलीले उक्त कपडा बरामद गरेको हो । कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर-७ बाट ४ किलोमिटरको मात्र दूरी छ ।
स्रोतका अनुसार सिरहामा पछिल्लो समय राजस्वले लगातार छापा हानेपछि स्थानीय सुरक्षा निकायकै सेटिङमा उक्त स्थानमा कपडा लुकाएर राखिएको थियो ।
सिरहामा तस्करी बढेपछि राजस्वले गत शनिबारदेखि नै लगातार छापा मारिरहेको छ । शनिबारदेखि मंगलबारसम्म ४ दिनमा झन्डै ३ करोड बराबर रुपैयाँको तस्करीका अवैध कपडालगायत मालसामान बरामद भइसकेको छ ।
राजस्वले सेटिङमा तस्करी गरी ल्याइएका मालसामान पक्राउ गर्न थालेपछि सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डीएसपी रामहरी खड्कालगायत सीमा क्षेत्रका नेपाल प्रहरीका २८ जना अनुसन्धानमा तानिएका छन् ।
https://ujyaalonepalnews.com/archives/31915


