खरिपाटी क्वारेन्टाइनमा चिनियाँ विश्वविद्यालयको अनलाइन कक्षा

चीनको वुहानमा अध्ययनरत सौरभ लुइँटेललाई वार्टन कृषि विश्वविद्यालयले गत सोमबारदेखि स्नातकोत्तर दोस्रो सेमेस्टरको पढाइ सुरु भएको जानकारी दियो। कोरोना भाइरसग्रस्त सो सहर छाडेर सौरभ आइतबार नै नेपाल फर्किएका थिए।

सो सूचना पाएसँगै खरिपाटी क्वारेन्टाइनमा रहेका उनी कसरी पढाइ अघि बढाउने भन्ने चिन्तामा परे। तर यो बीचमा विश्वविद्यालयले अनलाइन अध्ययनको विकल्प दिएको छ। अहिले उनी आफ्नो अध्ययनबारे ढुक्क भएका छन्। हप्तामा तीन दिन अनलाइन कक्षा लिइरहेका छन्।

‘नयाँ वर्षको विदापछि विश्वविद्यालयले पढाई सुरु भएको जानकारी दिइसकेको छ,’ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सौरभले नेपालखबरसँग भने, ‘अहिले अनलाइनबाट अध्ययन भइरहेको छ। समय मिले प्राध्यापकहरुलाई लाइभ हेर्न सकिन्छ। नत्र रेकर्डेड भिडियो वेबसाइट लगइन गरेर डाउनलोड गरी सुन्न सकिन्छ ।’

अहिले सौरवका तीन वटा विषयको पढाइ सुरु भएको छ। मंगलबार, बुधबार र बिहीबार उनी अनलाइनमार्फत् कक्षामा सहभागी हुन्छन्।

चीनबाट सरकारले आइतबार स्वदेश फर्काएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी हुन्। नेपाल फर्केपछि पढाइ के होला भनेर चिन्तित उनीहरु विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरिदिएकोमा खुसी छन्।

वुहानमा पीएचडीका विद्यार्थी अशोक साहले स्नातकोत्तर दोस्रो सेमस्टरका कक्षा अनलाइनबाटै सुरु भएको र नेपाली विद्यार्थीले पढाइ सुरु गरेको जनाए।

‘मेरो श्रीमती पनि स्नातकोत्तर दोस्रो सेमेस्टरमा वुहानमै अध्ययरत छिन्। अहिले अनलाइनबाटै अध्ययन गरिरहेकी छिन्,’ उनले भने।

नेपाल फर्किनुअघि साह वुहानमै रिसर्चको काम गरिरहेका थिए। खरिपाटीस्थित क्वारेन्टाइनमा सरकारले इन्टरनेट सुविधा दिएपछि पढाइमा सहयोग पुगेको उनले बताए।

ल्याबमै अध्ययन गर्नुपर्ने विद्यार्थीहरुको अध्ययन कसरी अघि बढ्छ भन्ने खबर आइनसकेको उनी बताउँछन्।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका अर्का विद्यार्थी सन्दीप उप्रेतीले फेब्रुअरी अन्त्यबाट आफूहरुको पनि पढाइ अनलाइनबाटै सुरु हुने तयारी रहेको बताए।

‘अहिले रजिस्ट्रेसनलगायतका औपचारिक कामह पनि अनलाइनबाटै भइरहेको छ। फेब्रुअरी अन्त्यबाट कक्षाहरु अनलाइनबाटै शुरु गर्ने तयारीमा छौं,’ उनले भने।

टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु

Previous articleसानुमायाको ६० लाख यसरी चोरियो
Next articleनिर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।