अतिक्रमणको मारमा पिठुवा सिंचाईको नहर

निराजन घिमिरे, जेठ ५- चितवनको रत्ननगर पिठुवामा रहेको पिठुवा सिंचाईको मूल नहर अतिक्रमणको मारमा पर्दै गएको छ । साबिकको पिठुवा गाविसको झन्डै १३५० हेक्टर जमिनमा व्यवस्थित सिंचाई सुबिधा उपलब्ध गराउन वि.स. २०३० सालमा निर्माण गरिएको नहरको दायाँबायाँ क्षेत्रमा अनाधिकृत रुपमा निर्माण तथा जग्गा प्लटिंगको कार्य नरोकिंदा नहर अतिक्रमणको मारमा पर्दै गएको हो ।

नहर रत्ननगरकै वडा नं. १६ को भुत्याहा देखि वडा नं. १४ को मध्य भागसम्म कायम छ । निर्माणको समयदेखि नै ठाउँ अनुसार १६ मिटर देखि १२ मिटर सम्म चौडाईमा फैलिएको नहर अहिले अतिक्रमणको चपेटामा पर्दै गएको हो ।

नहरको डिल मासेर निर्माण गरिएको पक्की संरचना

यस्तै मूल नहर मात्र नभई शाखा नहरहरू समेत अतिक्रमणको चपेटामा परेका छन् । विशेष गरि वडा नं. १५ को लागी लगिएको नगरमा तीव्र अतिक्रमण बढेको छ । केहि वर्ष अगाडी सम्म ४ देखि ५ मिटर चौडाईमा फैलिएको सो नहरको दायाबाँया हाल पानी बग्ने भाग बाहेक १/१ मिटर पनि नराखी कटान गरिएको छ । यसले पूर्ण क्षमतामा नहर संचालन हुने समयमा नहर नै फुट्ने जोखिम बढेको छ ।

तिब्र बसाईसराईको कारणले जनघनत्व बढ्दै गएपछि नहरको दायाँबायाँ क्षेत्र अतिक्रमण हुँदै गईरहेको हो । हाल नहरको दायाबाँया डिलमा कब्जा जमाएर ठुला निर्माण कार्य भएका छन् भने खनजोत गरेर खेती गर्ने, चौपाया बाध्ने, पराल थुपार्ने, निर्माणजन्य पदार्थ भण्डारण गर्ने जस्ता कार्य भैरहेका छन् । यस्ता कार्य नगर्न नगराउन पटकपटक आग्रह गर्दापनि बेवास्ता हुँदै आएको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाका सचिव मदन भुजेलले बताए ।

जग्गा प्लटिंग गर्न कटान गरिएको डिल पुर्ववास्थामा फर्काइदै

संस्थाको पटकपटकको आग्रह बेवास्ता गरेर निर्माण संरचना नहटाउने माथि अब निर्मम हुने नीति लिईएको संस्थाका अध्यक्ष देवबहादुर रानाले जानकारी दिए। सोहि अनुसार शनिवार पिठुवा डेरी नजिकैको क्षेत्रमा कटान गरिएको नगरको डिल पुर्वावास्थामा फर्काईएको छ । सो कार्य गर्दा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित जग्गा धनीबाट असुल उपर गरिने अध्यक्ष रानाले बताए । नहर संरक्षणको कार्यमा उपभोक्ता समिति, किसान र स्थानिय सरकारको त्रिपक्षीय भूमिका अत्यावश्यक रहेको उनको धारणा छ ।

वडाध्यक्ष हेमराज थापा अतिक्रमित नहर संरक्षणको लागी वडा कार्यालयमै पटकपटक सरोकारवालाहरु संग छलफल गरिएको बताउँछन् । अतिक्रमण बारे गुनासो आउना साथ् आफुले व्यक्ति पहिचान गरि सचेत गराएपनि यस्ता कार्य पूर्ण रुपमा नियन्त्रणा आउन नसकेको उनले बताए ।

भुत्याहाको अस्थाई बाँधबाट सुरु भएर झन्डै पाँच किलोमिटर लम्बाईमा फैलिएको नहरबाट २३ वटा शाखा संचालन गरि हाल १२०० हेक्टर बढी जमिनमा सिंचाई गरिंदै आईएको छ । वर्षको आठ महिना सो क्षेत्रमा सहज रुपमा सिंचाई सुविधा दिने उक्त नहरले पानीको श्रोतको अभावमा बाँकी समयमा भने माग अनुसार पानी वितरणमा समस्या भोग्दै आएको छ ।

 

यहि समस्या समाधान गर्न तथा समग्र पुर्वि चितवनलाई नै सिंचाई सुविधा पुर्याउन आर्थिक वर्ष २०६८/६९ को वार्षिक विकास कार्यक्रम मार्फत त्रिशुली- शक्तिखोर डाइभर्सन अघि बढाउने घोषणा सरकारले गरेको छ । विधुत समेत उत्पादन गर्नेगरी पहिचान गरिएको बहुउद्देशीय उक्त आयोजनाको निर्माणको लागी विभिन्न स्तरबाट पहल भईरहको छ ।

गत चैत्रमा कालिकाका मेयर विनोद रेग्मीले उक्त आयोजना निर्माणको लागी प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् भने सांसद हरि ढकालले आगामी बजेटमा उक्त आयोजना समाबेश गराउन अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । चैत्र ३१ गते पुर्विचितवनका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले सो आयोजना आगामी बजेटमा समावेश हुने प्रतिबद्दता व्यक्त गरेका छन् ।

नहरमा पानी थप गर्न ठुला आयोजना कार्यान्वयनको चरणमा जानै लाग्दा नहर नै अस्तव्यस्त हुनेगरी अतिक्रमण बढ्दा चिन्ता थपिएको सामाजिक अगुवा रामहरी पनेरुले बताए । त्रिशुली- शक्तिखोर डाइभर्सन निर्माणको चरणमा जाने हो भने अबको केहि वर्षमा नै सो नहर मार्फत रत्ननगरका धेरै क्षेत्रमा बार्है महिना पूर्ण क्षमतामा सिंचाई सुविधा उपलब्ध हुनेछ ।

यस्तो अवस्थामा हाल कायम नहर भन्दा अझ फराकिलो र ठूलो क्षमताको नहर निर्माण गर्नुपर्ने हुन्छ। भईरहेको नहरलाई मात्र जोगाउन सक्ने हो भनेपनि भविष्यमा ठूला परियोजना सञ्चालन गर्न सहज हुनेछ।

Previous articleराइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता
Next articleमनहरीमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ सौराहाको खोरमा मर्‍यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।