थ्रीस्टार फाइनलमा

आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले आयोजकको टोलीलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

झापाको झिलझिलेमा भएको पहिलो सेमिफाइनलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ५९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। मिक्छेन तामाङले प्रहार गरेको कर्नरलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। त्यसको एक मिनेट नबित्दै थ्रीस्टारका अशोक खवासले अग्रता दोब्बर पारे। अशोक खवासको लामो प्रहार गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो।

खेलको ८२ औं मिनेटमा कप्तान विक्रम लामाको गोलसँगै थ्री स्टारले जित सुनिश्चित गर्यो। खेल सकिन २ मिनेट बाँकी रहँदा पदम भट्टराईले पेनाल्टीमा एक गोल फर्काए। खेलको म्यान अफ दि म्याच बनेका अनन्त तामाङले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार डिभिजन लिग विजेता मच्छिन्द्र र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उपाधि विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सोचेभन्दा राम्रो प्रगति भइरहेको छ

Previous articleनेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते
Next articleसञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।