सातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ मा रहेको सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पिठुवा खानेपानीमा मर्ज हुनेभएको छ । शुक्रबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।

अध्यक्ष लेखबहादुर भण्डारीले राखेको समायोजन प्रस्ताव साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । वि.स २०६४ सालमा पानीको चरम अभाव रहेको बेला स्थापना गरिएको संस्था जिर्ण बन्दै गएपछि संचालनमा कठिनाई आएको थियो ।

त्यतिबेला जुटपानी देखि रत्ननगरको टाँडीबजार सम्म खानेपानीको सेवा दिईरहेको जुटपानी खानेपानी बन्द भएपछी पिठुवा क्षेत्रमा खानेपानीको चरम अभाव रहेको थियो  । पिठुवाकै अन्य क्षेत्रमा ईनार खनेर पानीको व्यवस्था  गरिएपनि साबिकको पिठुवा एक नम्बर क्षेत्रमा ईनार खन्दा समेत पानी नभेटिएपछी पानीको हाहाकार भएको थियो ।

स्थानीयहरू साईकलमा पानीको गाग्रो झुन्डाएर झन्डै तिन किमी पर रहेको जुटपानी बजारबाट पानी ओसारेर पिउन बाध्य थिए । यस्तो परिस्थितिमा भरतपुरमा रहेको युवा समाज नेपाल नामक गैह्रसरकारी संस्थासंगको सहकार्यमा सातकन्या खानेपानी स्थापना गरिएको थियो ।

सो समयमा भुत्याहामा रहेको कयरखोला छेउको जरुवाको पानी संकलनगरि पाईपलाईन मार्फत वितरण सुरु गरेको संस्थाले हाल डिपबोरिंग संचालन गरि पानी वितरण गरिरहेको छ । हाल संस्थाका ३१० ग्राहक छन् । संस्था केहिवर्ष देखि निरन्तर घाटामा संचालन भईरहेको छ । आम्दानी भन्दा खर्च बढी भएपछि संस्थाको संचितिकोष ओरालो लाग्ने क्रममा छ ।

स्थापनाको झन्डै १७ वर्ष पछी उक्त संस्थालाई पिठुवा खानेपानीमा मर्जगर्न लागिएको हो ।  सिमित श्रोत साधन र जिर्ण संरचनाको कारण संस्था संचालनमा कठिनाई आएपछि मर्जमा जाने निर्णय गरिएको अध्यक्ष लेखबहादुर भण्डारीले बताए । साधारणसभाले दिएको म्यान्डेड अनुसार अब विधि र प्रक्रिया पुरागरी समायोजन कार्य सम्पन्न गर्ने उनले बताए ।

शुक्रवार आयोजित साधारणसभामा उपस्थित पुर्वअध्यक्ष, सल्लाहकार तथा जनप्रतिनिधीहरुले समेत यथासक्य छिटो समायोजन प्रक्रियालाई पुरा गरि ३१० धुरीलाई सहजरुपमा खानेपानीको सुनिश्चिता गराउन आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्ष हेमराज थापा, वडासदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ र  सरिता गुरुङ, पुर्व अध्यक्षहरु विष्णुप्रसाद अर्याल, पुर्षोत्तम लामिछाने, भद्रकाली माविका प्रअ चिरन्जीवी खनाल,सामाजिक अगुवा प्रकाश खनाल शैलेश लगायतको उपस्थिति रहेको थियो ।

लेखा संयोजक रामहरी पनेरुले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष मनाकुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम संस्थाका कोषाध्यक्ष वुद्धिमान गुरुङले संचालन गरेका थिए ।

 

 

Previous articleगोविन्दे हात्तीकाे आक्रमणबाट चितवनमा एकजनाकाे मृत्यू
Next articleरत्ननगरमा गोली हानेर दुई चित्तल मारी लैजान खोज्ने एक जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।