सहकारी प्रकरण: चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख केन्द्र तानिए

काठमाडौं । गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई केन्द्रमा तानेको छ ।

रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो ।

नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ । अध्यागमन विभागको प्रमुख जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई तोकेको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।

कार्यक्षमता कमजोर देखिएपछि रिमाललाई फिर्ता गरेर एसपी गौतमलाई पठाइएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

Previous articleटिकौलीमा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा एकको मृत्यु दुईजना घाईते
Next articleदेशैभर सयपत्री फूलको उत्पादनमा ह्रास; सय रुपैयाँमा माला बेच्न एसोसिएसनको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।