चितवन- प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको तेस्रो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको बुद्धिचाल (चेस) प्रतियोगितामा चितवन जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै समग्रतर्फ दोस्रो स्थान हासिल गरेको छ।
महिलातर्फ तीन विधामा सम्पन्न प्रतियोगितामा चितवनकी प्रतिभाशाली खेलाडी लक्ष्मी कडेलले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विधामा स्वर्ण पदक जित्न सफल भएकी छन्। उत्कृष्ट प्रदर्शनकै आधारमा उनी प्रतियोगिताको ‘बेस्ट प्लेयर’ घोषित हुने भएकी छन्।

पुरुषतर्फको प्रतिस्पर्धामा चितवनका राजु त्रिपाठीले क्लासिक विधामा उत्कृष्ट खेल प्रस्तुत गर्दै पाँचौँ स्थान हासिल गरेका छन्। उक्त उपलब्धिसँगै उनले सान्त्वना पुरस्कार समेत प्राप्त गरेका छन्।
चितवन टोलीको नेतृत्व चितवन जिल्ला बुद्धिचाल संघका अध्यक्ष मोहन श्रेष्ठले टिम म्यानेजरका रूपमा गरेका थिए। टोलीको प्रभावकारी व्यवस्थापन, रणनीतिक तयारी तथा खेलाडीहरूको अथक मेहनतका कारण चितवनले समग्र बुद्धिचाल प्रतियोगितामा दोस्रो स्थान सुरक्षित गर्न सफल भएको हो।

यस सफलताबारे प्रतिक्रिया दिँदै अध्यक्ष मोहन श्रेष्ठले खेलाडीहरूको निरन्तर अभ्यास, अनुशासन र समर्पणकै परिणामस्वरूप यो उपलब्धि हासिल भएको बताए। उनले आगामी दिनमा चितवनको बुद्धिचाल खेललाई राष्ट्रिय स्तरमा अझ सशक्त र प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको समेत उल्लेख गरे।



