बहराइनमा पनि कोरोना संक्रमण, नेपालीहरु त्रासमा

१५ फागुन, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन ।

बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।

बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबारदेखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ ।

बहराइनमा होटल सञ्चालन गर्दै आएका काठमाडौंका ईश्वर पोखरेलले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘म काठमाडौंको ठमेलजस्तै यहाँको एरियामा होटल चलाउँछु । अहिले विदाको बेलामा पनि होटलहरुमा ग्राहकको चहलपहल छैन ।’

दूतावास के गर्दैछ ?

उनका अनुसार बहराइनस्थित दूतावासले सुरक्षा सचेतनाका लागि सूचना प्रवाह वा अन्य कुनै गतिविधि गरेको छैन । दूतावासको वेबसाइट र फेसबुक पेजमा पनि कोरोनासँग सम्बन्धित कुनै सूचना वा जानकारी राखिएको छैन । बहराइनमा हाल नेपाली राजदूत पदम सुन्दास छन् ।

बहराइनमा काम गर्दै आएका पोखरेलले अनलाइनखबरसँग भने, ‘यहाँ बस्ने नेपालीहरु त्रासमा छन् । हाम्रो जीवन रक्षाका लागि सरकारले के गर्दैछ ?’ कोरोना संक्रमण सुरु भएको चीनको बुहान सहरबाट नेपाल सरकारले १ सय ७५ जना नेपालीहरुलाई उद्धार गरेको थियो ।

बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउनुभन्दा अगाडि नै ती महिलाहरु हवाईजहाजमार्फत् बहराइन आएका थिए । इरानमा १९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले २०१९ को डिसेम्बर अन्तिम साता चीनमा फेला परेको थियो । हाल ३० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् । ३३ हजार २ सय ६ जना भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

श्रीमती ब्वाईफ्रेण्डको अंगालोमा बेरिन थालेपछि पत्नीपी’डित बनेका पतिहरू घर न घा’टको

Previous articleनयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी
Next articleजापान सरकारका सल्लाहकार भन्छन्ः डायमोण्ड प्रिन्सेस पानीजहाजको क्वारेन्टाइन त्रुटिपूर्ण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।