
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा श्रीमान्–श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। उनीहरुको शव रक्ताम्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बिहीबार ५२ वर्षीय जयलाल भण्डारी र २५ वर्षीय धनादेवी भण्डारी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए। उनका अनुसार घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको शव भेटिएको हो।
प्रहरीले उनीहरुको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ।
‘घटना शंकास्पद देखिन्छ, हत्या हो कि भन्ने कोणबाट अनुसन्धान गर्दै छौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले नेपालखबरसँग भने, ‘धनगढीबाट कुकुर ल्याएर अनुसन्धान गर्दैछौँ।’
प्रहरी निरीक्षक कार्कीका अनुसार मृतकहरुको घाँटीमा चोट छ। पहिलो श्रीमतीको मृत्युपछि जयलालले धनादेवीसँग दोस्रो बिहे गरेका थिए। पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा रहेको प्रहरीले जनाएको छ।
आयो सरकारको निर्णय: पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर


