
कुलबहादुर श्रेष्ठ पेसाले ट्याक्सी चालक हुन्। उनी काठमाडौँ उपत्यकामा बा२ज ४१५५ ट्याक्सी चलाउछन्।

गत साउनमा १६ गते उनी आफ्नो सवारीसहित सुन्धारामा थिए। त्यही समयमा एक यात्रु ( विवेक खड्का) हतारिएका आफूलाई न्युरोडसम्म पुर्याइदिन आग्रह गरे। श्रेष्ठले उनलाई न्युरोड पुर्याइदिए। हतारमा रहेका विवेकले उनलाई भाडा दिए र फटाफट आफ्नो बाटो लागे।
केही छिनमै चालक श्रेष्ठले आफ्नो ट्याक्सीमा खड्काको झोला छुटेको देखे। झोला देख्नासाथ श्रेठले यताउति हेर तर उनलाई देखेनन्। त्यसपछि श्रेष्ठ महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगे। उनले आफ्नो ट्याक्सीमा यात्रुको समान छुटेको भन्दै प्रहरीलाई उक्त सामग्री बुझाए।
श्रेष्ठले झोला प्रहरीलाई बुझाएको १ घण्टाभित्रै रुकुमको सिस्ने गाउँपालिकाका घर भइ हाल सुन्धारा बस्दै आएका खड्काले आफ्नो सामान ट्याक्सीमा छुटेको भन्दै प्रहरीमा उजुरी गरे। प्रहरीले खड्कालाई उनको सामग्री प्रहरी महाशाखामा सुरक्षित रहेको भन्दै बोलायो। खड्का आफ्नो सामग्री पाएकोमा प्रहरी र चालकलाई धन्यवाद दिए।
‘उहा (खड्का) ले मलाई धन्यवाद दिँदै ५ हजार पुरस्कार पनि दिनुभयो,’ श्रेष्ठले भने ‘मैले मनमनै साेचे ५ सय हराउँदा त मलाई कति दुःख लाग्छ। साढे दुई लाख हराउनु भनेको ठूलै कुरा हो। उहाँले पनि मैले जस्तै दुःख गरेर कमाउनु भएको थियो होला। मलाई साढे २ लाखले जिन्दगीभर पुग्ने पनि होइन सोचेर प्रहरीकोमा बुझाए।’

अर्का ट्याक्सी चालक नवीन सिग्देलले माघ २७ गते लाजिम्पाटदेखि नर्भिक अस्पतालसम्म पु¥याएका यात्रुको १३ तोला सुन र ल्याप्टप सहितको झोला आफ्नो बा२ज ४०७१ नम्बरको ट्याक्सीमा छाडेको भेटे। लगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा उनले उक्त सामग्री पुर्याए। आफ्नो छुटेका सामग्री जस्ताको तस्तै पाएपछि खुसीमा लक्की रिजालले चालक नवीन सिग्देललाई सुनको सिक्री नै उपहार दिए।
यी दुई चालक त प्रतिनिधि मात्रै हुन। साउन यता ट्राफिक प्रहरीकोमा भेट्टाएको सामग्री पुर्याउने २१ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।
‘ट्राफिक प्रहरीले बोलाएरै सम्मान गर्यो। धेरै खुसी लागेका छ। राम्रो काम गर्दा ट्याक्सी चालकको पनि सम्मान हुँदो रहेछ भनेर खुसी लाग्यो’, चालक श्रेष्ठले भने ‘अरु ट्याक्सी चालकले पनि आफुले भेटाएको समान फिर्ता गरिदिनुपर्छ।’
महाशाखाका एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरीले जहिले चिट मात्रै काटछ्, कारबाही मात्रै गर्छ भन्ने धारण परिवर्तन गर्न असल चालकलाई सम्मान गरेको बताए। ‘जसले गल्ती गर्छ त्यो कारबाहीमा त परिहाल्छ,’ उनले भने ‘तर, राम्रो काम गर्नेलाई हामी सम्मान पनि गछौं।’
सम्मान पाउने ट्याक्सी चालकहरु
साउनदेखि विभिन्न मितिमा ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु महाशाखामा आफैँ बुझाउन आउने असल चालकलाई सम्मान गरेको हो।
जसमा युवराज राना मगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अवदेश कुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोयतबहादुर रोक्का, जम्क श्रेष्ठ, रिधबहादुर क्षेत्री, नवीन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ, निलहरि ढुंगेल रहेका छन्।

यो अवधिमा ट्याक्सी चालकहरुले एक भारतीयसहित २० नेपाली नागरीकको सामान फिर्ता गरेको महाशाखाले जानकारी दिएको छ ।
साउनदेखि फाल्गुन १६ गतेसम्म ट्क्यसीमा समान छुटेको भन्दै ३९५ जनाले उजुरी गरेका थिए। जसमा २८० जनाको सामान फिर्ता भएको प्रहरीले बताएको छ। फेला परेको कुल अन्दाजी १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँँ फेला पारेको प्रहरीको तथ्यांक रहेको छ। सामान फिर्ता पाउनेमा १८ विदेशी नागरिकसमेत रहेका छन्।
मलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु


