पिठुवा डेरीमा अन्तर्क्रिया : पाँच किसान सम्मानित

Click Image

रत्ननगर । पिठुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार गैरशेयर सदस्य किसानहरुको गुणस्तरीय दूध उत्पादन तथा गोठ सरसफाइसम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले र पशु प्राविधिक हरिलाल डाँगीले कृषिकहरुलाई पशुहरुको आहार र आनीबानीका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, हाल नेपालमा चलनचल्तीका आधुनिक प्रविधिको प्रय‍ोग कसरी गर्ने, लागत घटाउने र उत्पादन बढाउने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विभिन्न विधामा पाँच जना कृषकलाई नगदसहित सम्मान गरिएको डेरीका अध्यक्ष गंगाराम गुरूङले बताए । उनका अनुसार सम्मानित हुनेहरुमा ज्येष्ठ सदस्य किसान टीकाराम दुवाडी, महिला उद्यमी ईश्वरी सिंखडा, सबैभन्दा बढी दूध ल्याउने रीता श्रेष्ठ, एकनासको दूध ल्याउने अमृता परियार र सरसफाइमा ध्यान दिने किसान लेखबहादुर थापा रहेका छन् ।

रत्ननगर-१६ कृषिमैत्री वडा भएको बताउँदै वडाभित्रका किसानको हरेक समस्या समाधान गर्न वडा तयार रहेको वडाध्यक्ष हेमराज थापाले बताए । वडा र नगरबाट प्रत्यक्ष किसानलाई अनुदान र सहुलियतमा मलबीउमा अनुदान दिने गरेको उनले बताए । नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने वडाध्यक्ष थापाले बताए ।

यस्तै, चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको दूधको रकम भुक्तानीमा समस्या भएको बताए । विभिन्न निकायको समन्वयमा बाँकी रकम भुक्तानीको तयारीमा रहेको उनले बताए । सहकारीमा संकलित दूध आफैँ विविधिकरण गर्नुपर्नेमा उनले जोड दिए ।

उनले संघमार्फत जिल्लाका सबै पालिकाका किसानको गोठगोठमा पुग्ने लक्ष्यका साथ सहकारीले काम गरिरहेको बताए । हाल जिल्ला संघले पशु प्राविधिकसहितको निःशुल्क सेवा उपलब्ध गराएको उनले बताए ।

यसैगरी, पिठुवा डेरीका अध्यक्ष गंगाराम गुरूङले डेरीले शेयर र गैरशेयर सबै कृषकलाई एउटै नजरले हेरेको बताए । संस्थाप्रति सकारात्मक धारणा राख्नुपर्ने उनले बताए । पिठुवा डेरीले कृषकहरुको मागको आधारमा विभिन्न काम गरिरहेको उनले बताए । उनले पशु र कृषक दुवैको डेरी र बिमा संस्थाबीच सहकार्य गरेर बिमा गर्ने तयारी रहेको बताए ।

डेरीका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रमको शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडीले सञ्चालन गरेका थिए । सो डेरीले हालसालै पिठुवा डेरी नामक मोहीको बिक्रीवितरण गर्दै आएको छ । यसअघि दही, पनिर, नौनी, खुवा, घ्युलगायतका दूधजन्य पदार्थ उत्पादन गरेर बजारीकरण गर्दै आएको छ ।

Previous articleरत्ननगरका सामुदायिक विद्यालयको एसईई :जनजागृति शीर्षमा, द्वारीकादास कमजोर
Next articleआफ्नै शरीरमा आगो लगाउँदा रत्ननगरमा एक पुरुषको जलेर मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।