वुहान । चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावित हुबेई प्रान्तको वुहान भ्रमणमा गएका छन् । चीनमा कोरोना भाइरसको संकट नियन्त्रणमा आउन थालेका संकेत देखिन थालेका बेला राष्ट्रपति सीले कोरोना भाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ सहर वुहानको भ्रमण गरेका हुन् ।
चीनको सरकारी सञ्चारमाध्यमले सीले हुबेई प्रान्तको वुहान नगरको एक अस्पताल भ्रमण गरेको जनाएको छ । त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ । चीनमा कोरोना भाइरसका थप १९ वटा मात्र नयाँ संक्रमण फेला परेको जनाइएको छ ।

अब हुबेईको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ । त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ । राष्ट्रपति सीले संकट सुरु भएपछि पहिलोपटक वुहानको भ्रमण गर्दै बेइजिङले कोरोना भाइरस संकटलाई नियन्त्रणमा लिन सफल भएको संकेत दिन खोजेका छन् ।
मुख्यभूमि चीनमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने तीन हजारभन्दा बढीको मृत्यु भएको छ । सञ्चारमाध्यमका अनुसार सी मंगलवार वुहान पुगेपछि त्यहाँको प्रकोप नियन्त्रणका कामको निरीक्षण गरेका हुन् । प्रकोप सुरु भएयता वुहान र हुबेई प्रान्तमा मानिसको आउजाउमा प्रतिबन्ध लगाइएको छ ।
उनले त्यहाँको एक समुदायलाई समेत भेटेको जनाइएको छ । ग्लोबल टाइम्स पत्रिकासँग कुरा गरेका विश्लेषकहरूले सीले ‘देश र समस्त विश्वलाई चीन प्रकोपको अध्यारो क्षणबाट बाहिर निस्कन सफल भएको बलियो संकेत दिएको’ बताएका छन् । राष्ट्रपति सीले दश दिनमा निर्माण पूरा भएको हुओशेशान अस्थायी अस्पतालको समेत भ्रमण गरेका छन् ।
सरकारी सञ्चार माध्यमहरूले चीनमा खोलिएका त्यस्ता अस्पतालमध्ये १४ वटा बन्द गरिएको पुष्टि गरेका छन् । रेन्मिन विश्वविद्यायका प्राध्यापक झाङ मिङले भने, ‘उनी अहिले त्यहाँ बाली भित्र्याउन गएका हुन् । उनी त्यहाँ पुग्नुको अर्थ के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्न सक्छ ।’
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए । उनले स्थानीय र अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे ।
उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गर्नुभएको थियो । राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताए ।
The post चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा appeared first on Rajdhani Daily News.


