सर्वदलीय बैठकको निष्कर्ष : कोरोना भाइरस संक्रमण एकजुट भएर सामना गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सामना गर्न राजनीतिक दल एकजुट भएका छन् । सरकारले सबै राजनीतिक दलका प्रमुख नेतासँग छलफल गरी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध एकजुट भएर सामना गर्ने सहमति गरेको हो ।

विश्वव्यापी रूपमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सर्वदलीय छलफलमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

उच्चस्तरीय समन्वय समितिले हालसम्म गरेका कामबारे जानकारी गराएको थियो । बैठकमा समिति संयोजक रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य संस्थाहरूबाट कोरोना भाइरस संक्रमणसँग जुध्ने गरी उच्चस्तरीय संयन्त्र तयार गर्न सुझाव प्राप्त भएको बताए । उनले भने, ‘समन्वयात्मक ढंगले अघि बढ्नुपर्छ । स्वास्थ्य संस्थालाई यही बेला बलियो बनाउनुपर्छ भनेर पनि सुझाव प्राप्त भएको छ, सरकार सोहीअनुसार अघि बढ्छ ।’

यस्तै, सर्वदलीय छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश रोकलाई व्यवस्थित गर्न सुझाव दिइएको छ । यसैगरी, सूचना प्रवाहमा एकद्वार नीति अवलम्बन गर्नुपर्ने निष्कर्षसमेत निकालिएको छ ।

कोरोना भाइरस संक्रमणको व्यवस्थापन गर्ने गरी आवश्यक रणनीति तय गर्ने विषयमा समेत छलफल भएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए । छलफलमा कोरोना रोकथाम, व्यवस्थापन र आगामी रणनीतिका विषयमा सर्वदलीय बैठकमा छलफल भएको थियो ।

सर्वदलीय बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी कार्ययोजनाबारे जानकारी गराएका थिए । सहभागीले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका नेता गगन थापा, समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, राजपाका नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत उपस्थित थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा राखेपछि सकारले सम्भावित जोखिमबाट बच्ने उपाय खोजी गरेको हो ।

The post सर्वदलीय बैठकको निष्कर्ष : कोरोना भाइरस संक्रमण एकजुट भएर सामना गरिने appeared first on Rajdhani Daily News.

संकटउन्मुख आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण

Previous articleअमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दाे, मृत्यु हुनेको संख्या ३८ पुग्यो
Next articleसामूहिक नेतृत्वमा राप्रपा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।