विदेशबाट फर्कन खोज्ने धेरै, पहिलो चरणमा २५ हजारलाई ल्याउने सरकारको तयारी

विदेशबाट फर्कन खोज्ने धेरै, पहिलो चरणमा २५ हजारलाई ल्याउने सरकारको तयारी

काठमाण्डौ – यूएईमा कार्यरत सुवास संग्रौलालाई कोरोनाको डर र जोखिमसँगै अर्को समस्या थपिएको छ । उहाँकी श्रीमती चार महिनाकी गर्भवती हुनुुहुन्छ । दुई महिनादेखि काम र कमाई छैन । आर्थिक सङ्कट त छँदैछ । यो बेला अस्पताल जान पनि जोखिम भएकाले घर फर्कन नपाउँदा उहाँलाई निकै समस्या परेको छ ।

यूएईको अबुधाबीमा काम गर्ने सिन्धुलीका शंकर भुजेललाई पनि छटपटी र उकुसमुकुस भएको छ । आफू बसिरहेको मुसाफा क्याम्प उहाँलाई जेलजस्तै लाग्न थालेको छ । भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा सयौंको भिड अनि कोरोनाको आतंक । परदेशमा त्यसरी बस्नुभन्दा घरै फर्कन पाए हुन्थ्यो भन्ने उहाँको चाहना छ।

यसरी घर फर्कने बाटो हेरेर बसेकाहरु अरु पनि धेरै छन् । कसैको भिसा सकिएको छ । कसैको कम्पनीमा काम छैन । कसैलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाकै कारण ज्यान गुमाएका खबरहरु पनि कानमा परिरहन्छ । यस्तो बेला अधिकांश नेपालीले दूतावासमा फोन गरेर घर फर्काइदिन आग्रह गर्ने गरेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

कतारको ओमसलालमा संक्रमितहरू राख्न बनाइएको क्वारेन्टाइन ।

दूतावासले पछिल्लो समय कोरोनाको कारण नेपाली श्रमिकलाई परेका समस्या र उनीहरुकोृ अवस्थाबारे तथ्याँक पनि सङ्कलन गरिरहेको छ । अनलाइन लगायतका विभिन्न माध्यममार्फत १५ हजारभन्दा धेरैले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । यसमध्ये अधिकांशले घर फर्कने इच्छा राखेको राजदूत ढकाल बताउनुहुन्छ।

कोरोनाको जोखिम बढेसँगै दूतावासमा अहिले घर फर्कन पाउँ भन्दै अनुरोध गर्नेहरुको संख्या बढेको छ । यसबारे दूतावासले नेपाल सरकारलाई जानकारी गराएको छ । तर जेठ मसान्तसम्म नै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाली घर फर्कन पाएका छैनन् ।

अहिले परदेशमा रहेका लाखौं नेपालीको मनमा एउटै जिज्ञासा छ, ‘सरकार हामी नेपाल फर्कन कहिले पाउँछौं ?’ घर फर्कन नपाएर परदेशमै रोकिएकाहरु भन्छन्, ‘खाडीमा कोरोनाको जोखिममा थनिनुभन्दा गाउँगाउँका जंगलमा छाडिदेउ, पानी पिएर बाँचौंला ।’

घर जान पाइयोस् भन्दै दूतावासका फोनका घण्टी पनि उसैगरी बज्छन् । तर यतिबेला परिस्थिति नै यस्तो छ कि दूतावास पनि ‘हुन्छ घर पठाइदिन्छौं’ भन्न सक्ने अवस्थामा छैन । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी भन्नुहुन्छ, ‘अहिले धेरैजसो नेपालीको चाहना नै घर जान पाइयोस् भन्ने छ, लामो समय काम र कमाइबिना बस्दा यस्तो लाग्नु स्वभाविक भए पनि परिस्थितिले सबैलाई बाध्य बनाएको छ ।’

कुवेतमा अहिले २८ सयदेखि ३ हजारको हाराहारीमा नेपाली आममाफीमा सहभागी भएर घर फर्कने दिन कुरिरहेका छन् । उनीहरुलाई कुवेत सरकारले नै बस्नका लागि सेल्टरको व्यवस्था गरेको छ भने खाद्यान्न लगायत अन्य आवश्यक सुविधा पनि कुवेत सरकारले नै उपलब्ध गराएको छ ।

कुवेतबाट ८ हजार फर्कन सक्ने अनुमान
राजदूत भण्डारीका अनुसार, अरु देशले त्यही सेल्टरमा भएकालाई घर फर्काउन थालेपछि नेपाली श्रमिकहरुलाई मनोवैज्ञानिक असर परेको छ । कुवेत सरकारले नै उनीहरुलाई आफ्नै जहाजमार्फत नेपाल पठाइदिन तयार छ । तर नेपाल सरकारले हामी तयार छौं, पठाइदिनुस् भन्न नसक्दा सेल्टरमा रहेका नेपालीहरु आत्तिएका छन् ।

सेल्टरमा बसेको २० औं दिन कट्दा जतिसक्दो चाँडो घर फर्कन पाइयोस् भन्ने उनीहरुको चाहना छ ।
‘पछिल्लो समय सेल्टरमा हुने केहीले समाजिक सञ्जालमार्फत विभिन्न गुनासा राखेको देखियो, सेल्टरमा सयौंजना बस्दा केही कुरा गाह्रो त छ तर यो परिस्थितिमा केही पनि आफू अनकूल नहुन सक्छ,’ राजदूत भण्डारी भन्नुहुन्छ, ‘कुवेत सरकारले राम्रो व्यवस्था गरेको छ, केही समस्या होलान् तर नेपालीलाई अप्ठेरै पर्ने अवस्था सेल्टरमा छैन ।’ सेल्टरमा बसेको २० औं दिन कट्दा जतिसक्दो चाँडो घर फर्कन पाइयोस् भन्ने उनीहरुको चाहना छ ।

राजदूत भण्डारीका अनुसार कुवेतबाट तत्कालै आममाफीमा सहभागी भएका, करार अवधि र भिसा सकिएका, बिदामा बस्ने र अन्य गरी झण्डै ८ हजार जना फर्कन सक्ने अनुमान छ । दूतावासमा नियमित आउने फोन, जिज्ञासा र अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा यो सङ्ख्या अनुमान गरिए पनि सङ्ख्या अझ बढ्न सक्ने देखिन्छ ।

अनलाइन र अन्य माध्यमबाट दूतावासले कोरोनाको कारण समस्यामा पर्नेहरुको विवरण सङ्कलन गरिरहेको छ । झण्डै १३ सय जनाले आफ्नो विवरण टिपाएका छन् । उनीहरुमध्ये आधा भने नेपाल फर्कन चाहन्छन् ।

‘कतारबाट तत्काल नपठाइ नहुने एक हजार छन्’
कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजका अनुसार अहिले कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये एक हजार जनालाई तत्काल फर्काउनुपर्ने देखिन्छ ।

दूतावासले समस्यामा पर्ने नेपालीको विवरण सङ्कलन गरिरहेको छ । अहिले अनलाइन र फोन लगायतका माध्यमबाट ६ हजार जनाले दूतावासमा विवरण टिपाएका छन् । उनीहरुमध्ये धेरैजनाको चाहन स्वदेश फर्कने छ । दूतावासका अनुसार कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । त्यसैले घर फर्कन चाहना राख्दै फारम भर्नेको सङ्ख्या विस्तारै बढ्न सक्ने राजदूत भारद्वाज बताउनुहुन्छ ।

लकडाउनका कारण घर फर्कन नपाएका, काम नहुँदा बेरोजगार भएकाहरुलाई खाद्यान्न लगायतको समस्या छ । कोरोनाको कारण दुःखमा पर्ने नेपालीहरुको संख्या बढिरहेको छ, कयौं नेपालीहरु रोजगारीबिहीन हुने अवस्था छ, कम्पनीले बिदामा राख्ने, बेतलबी बिदा लिन दबाब दिने गर्न थालेका छन्,’ राजदूत भारद्वाज भन्नुहुन्छ, ‘यस्तो अवस्थामा घर फर्कन खोज्ने नेपालीको सङ्ख्या बढ्नु स्वभाविक हो ।’

साउदीबाट तत्काल ८ देखि २० हजार जनासम्म फर्कन सक्ने
साउदीमा कार्यरत श्रमिकमा अहिले सबैभन्दा धेरै खाद्यान्न र बासस्थानको समस्या देखिएको छ । दूतावासका अनुसार साना कलकारखाना र उद्योग बन्द भएर समस्यामा परेका झण्डै पाँचसय जनालाई खाद्यान्न लगायतको व्यवस्थापन गर्ने काम भैरहेको छ । साउदीमा अहिलेकै अवस्थामा पनि केही नेपाली श्रमिकले रोजगारी गुमाइसकेका छन् । कोरोना सङ्क्रमण बढदै जाँदा त्यहाँ रहेको नेपालीको रोजगारी गुम्ने खतरा अझै बढ्दै गएको छ ।

यसरी दिनहुँ समस्या बढ्दै जाँदा साउदीबाट घर फर्कन खोज्नेहरुको सङ्ख्या पनि बढेको छ । भिसा, करार सकिएका, कम्पनीबाट स्वदेश फर्कन अनुमति लिएर पनि फर्कन नपाएकाहरु अहिले धेरै समस्या छन् । दूतावासमा फोन गर्नेमध्ये धेरैले स्वदेश फर्काउन अनुरोध गर्ने गर्छन् ।

घरफिर्ती केन्द्रमा रहेकाहरुलाई साउदी सरकारले नै पठाउन खोजिरहेको छ । यी विभिन्न समस्यालाई आधार मान्दा साउदीबाट तत्कालै ८ हजारदेखि २० हजारको सङ्ख्यामा नेपालीलाई फर्काउनु पर्ने हुन सक्ने साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताउनुभयो । दूतावासमा विभिन्न माध्यममार्फत १० हजारभन्दा धेरैले आफ्नो विवरण टिपाएका छन् । उनीहरुमध्ये धेरैको चाहना घर फर्कन पाउँ भन्ने रहेको राजदूत सिंहको भनाइ छ ।

ओमानमा पनि घर फर्कन खोज्ने धेरै
ओमानमा कोरोनाको कारण नेपाली श्रमिकमा त्यति ठूलो समस्या देखिएको छैन । तर लकडाउन र अन्तर्राष्ट्रिय उडान रोकिंदा घर फर्कन नपाएकाहरुले दूतावासमा सम्पर्क गर्ने गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो ।

‘कहिले घर जान पाइएला कहिले खुल्ला भनेर सोध्नेको सङ्ख्या धेरै छ, हामीले उहाँहरुलाई सही सूचना दिने र परेका समस्या समाधानका लागि आवश्यक समन्वयको काम गरिरहेका छौं’ राजदूत पराजुलीले भन्नुभयो ।

ओमान सरकारको प्राथमिकताको क्षेत्रमा काम भैरहेको त छ । तर कोरोनाकाल लम्बिंदै जाँदा साना कम्पनीहरुमा नेपाली श्रमिकको रोजगारी गुम्न सक्छ । भिसा, करार र कोरोनाको कारण रोजगारी गुमाएर ओमानबाट ३५ सय नेपाली फर्कन सक्ने सरकारी अनुमान छ ।

कोरोनाकाल लम्बिए मलेसियाबाट पनि फर्कनेको सङ्ख्या बढ्ने
मलेसियामा जुन ९ सम्म लकडाउन छ । तर क्षेत्रगत हिसाबमा त्यहाँ आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । प्रायःजसो क्षेत्रमा काम पुनः सुरु भएको छ । तर पनि विभिन्न कारणले फर्कन खोज्ने नेपालीको सङ्ख्या मलेसियामा पनि ठूलै छ ।

मलेसियामा रहेको नेपाली दूतावासले कोरोनाकोको कारण समस्यामा परेका नेपालीको विवरण लिइरहेको छ । अनलाइन र फोन लगायतका माध्यमबाट ६ हजारभन्दा धेरै नेपालीले दूतावासमा विवरण टिपाएका छन् । यसमध्ये आधाले घर फर्कने इच्छा राखेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले बताउनुभयो ।

भिसाको म्याद सकिएका, आममाफीमा सहभागी भएका र कोरोनाको कारण रोजगारी गुमाएर मलेसियाबाट ३७ हजार नेपाली फर्कन सक्ने सरकारी अनुमान छ । मलेसियाले जनवरी १ पछि भिसाको म्याद सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र देश छाड्न भनेकाले पनि जुन ९ पछि स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या बढ्ने निश्चित छ ।

के छ सरकारको तयारी ?
भिसाको म्याद सकिएर, आममाफीमा सहभागी भएका र कोरोनाको कारण रोजगारी गुमाएर तत्काल खाडीका ६ देश र मलेसियाबाट मात्रै ४ लाख ७ हजार नेपाली फर्कन सक्ने सरकारी अनुमान छ । तर पहिलो चरणमा अति नै समस्यामा परेमा २५ हजार जनालाई ल्याउन सकिने र त्यही अनुसारको तयारी भइरहेकने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘अहिले पहिलो लटमा सङ्ख्या २५ हजार जति हुने देखिन्छ, तर त्यो सङ्ख्या पछि बढ्न सक्छ ।’

‘झण्डै ४० लाखको सङ्ख्यामा रहेका नेपालीमध्ये सबैलाई अहिले ल्याउन सकिन्न, समस्यामा परेका र अत्यधिक अप्ठ्यारोमा परेकाहरुलाई नै प्राथमिकतामा राखेर ल्याउने हो,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘हामीले पहिलो चरणमा विभिन्न देशमा अवैधानिक तरिकाले बसिरहेका र सम्बन्धित देशको आममाफी प्रक्रियामा समावेश भएर आममाफी पाएका, रोजगाी गुमाएका, करार सकिएका, गर्भवती र बिरामीहरुलाई पहिलो प्राथमिकतामा राख्छौं ।’

अहिले सरकारको प्राथमिकतामा कोरोनाबाहेक अन्य रोग लागेकाहरु र छोटो समयको भिजिट भिसा भएकाहरु लगायत छन् । विदेशमा समस्यामा पर्नेहरुको वर्गीकरणसँगै उनीहरुको स्वदेश फिर्ताका लागि प्रदेश अनुसार फोकल पर्सनसमेत तोकिएको छ ।

A woman wearing a face mask walks in front of Twin Towers in Kuala Lumpur, Malaysia, Wednesday, March 18, 2020. For most people the new COVID-19 coronavirus causes only mild or moderate symptoms, but for some it can cause more severe illness. (AP Photo/Vincent Thian)

मन्त्री ज्ञवालीका अनुसार विदेशमा समस्यामा पर्नेहरुको उद्धारका लागि सरकारको तयारी पूरा हुँदैछ । आममाफीमा सहभागी भएका, कामबिहीन भएर समस्यामा परेका लगायतलाई ल्याउने र त्यही अनुसारको क्वारेण्टीनको व्यवस्थापन हुनेछ । पैसा तिर्न सक्नेहरुले आफ्नै खर्चमा बस्छु भनेमा होटलमा राख्ने सरकारको तयारी छ ।

‘खर्च व्यहोर्न सक्नेहरुको लागि हामीले होटेलसँग पनि कुरा गरेका छौं, तर रोजगारी गुमाएर, आममाफी पाएर आएकाहरुलाई तपाईंहरु होटलमा बस्नुस् र आफ्नो खर्च आफै तिर्नुस् भन्न सक्ने अवस्था पनि सबैलाई नहोला, त्यसका लागि छुट्टै प्रबन्ध गर्नुपर्ने छ, हामीले गरिरहेका छौं,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

पहिलो चरणमा अति नै समस्यामा परेकालाई मात्र ल्याउने भएको हुँदा त्यो सङ्ख्या सानो हुने र अरुलाई अहिले हतार नगर्न परराष्ट्र मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको छ । सन्जिता देवकोटा/ उज्यालो

‘कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा’

Previous articleघ’ना मानव ब’स्ती माथी जहाज दुर्घ’टना हुँदा ९८ जनाको ज्या’न गयो (ला’ईभ भि’डियो सहित)
Next articleकहिले बाट संचालनमा आउँछ विमानस्थल: कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।