एकीकृत कृषक साकोसको नेतृत्व चयन कार्यक्रम; अध्यक्षमा विष्णुप्रसाद अर्याल

रत्ननगर, चितवन । रत्ननगर–१६ स्थित एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा तथा नेतृत्व चयन कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रमले आगामी कार्यकालका लागि संस्थाको नेतृत्व चयन प्रक्रिया अघि सार्दै मूल पदाधिकारीहरूमध्ये केहीमा सर्वसम्मत सहमति जुटाएको छ।

संस्थाको अध्यक्षमा विष्णु प्रसाद अर्याल चयन भएका छन् भने सचिव पदमा लक्ष बहादुर गुरुङ र कोषाध्यक्षमा सन्तोषी घिमिरेले जिम्मेवारी निर्वाह गर्ने भएका छन्। त्यस्तै लेखा समिति संयोजकका रूपमा शिवप्रसाद पुडासैनी चयन भएका छन्।

यद्यपि उपाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेपछि सहमति जुट्न नसकेको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक पुरुषोत्तम लामिछानेका अनुसार आईतबार साँझ ५ बजेसम्म सहमतिको प्रयास गर्न समय दिइएको छ। “तोकेको समयभित्र सहमति नभए संस्थाको नियमावलीअनुसार निर्वाचन प्रक्रिया अघि बढाइनेछ,” उनले जानकारी दिए।

साधारणसभामा संस्थाको विगत वर्षको आर्थिक र कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी वर्षका योजनामाथि चर्चा–परामर्श गरिएको थियो।

सहकारीलाई अझै सबल तथा पारदर्शी बनाउने उद्देश्यसहित साधारणसभाले विभिन्न सुझाव तथा निर्देशनहरू पनि पारित गरेको छ।

Previous articleHow to Start Winning at 333 Casino: Essential Tips and Tricks for Beginners
Next articleकालिकामा जिप दुर्घटना हुँदा खैरहनीका राममणि न्यौपानेको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।