कालिका । लामो समयदेखि निर्माणमा ढिलाइ हुँदै आएको कालिका नगरपालिकाको प्रशासनिक भवन अब अन्तिम चरणमा पुगेको छ। नगरपालिकालाई अत्यावश्यक मानिएको तथा नगरवासीको चासोको विषय बनेको उक्त भवनको निर्माण कार्य छिटो सम्पन्न गराउन नगर प्रमुख विनोद रेग्मीले कडा पहल थालेका छन्।
बारम्बार ताकेता गर्दा पनि निर्माण कार्य ढिलाइ भइरहेका अवस्थामा भवन निर्माणको ठेक्का जिम्मा पाएको निर्माण व्यवसायी तथा निर्माण कम्पनी रबिना कन्स्ट्रक्सनका प्रमुख रामगोपाल श्रेष्ठलाई बोलाएर शुक्रवार महत्वपूर्ण छलफल गरिएको हो।
शुक्रबार भएको अनुगमनका क्रममा बाँकी रहेका स–साना कामहरू आगामी १५ दिनभित्र सम्पन्न गर्ने, साथै कानुन र नियमअनुसार प्राविधिक मूल्यांकन प्रक्रिया शीघ्र पूरा गरी भवन नगरपालिकालाई हस्तान्तरण गर्ने विषयमा निर्माण व्यवसायी सहमत भएका छन्।
छलफलपछि नगरपालिकाका प्राविधिकसहितको टोलीले निर्माणाधीन भवनको स्थलगत अनुगमन गरेको थियो। गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा सो निर्माणाधीन भवनमा समेत तोडफोड गरिएको थियो।।
मेयर रेग्मीका अनुसार प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी हुने तथा हाल नगरपालिकाको कार्यालय सञ्चालनमा रहेको घर भाडा बापतको रकम बचत हुने मेयर रेग्मीले जानकारी दिए।।




