दुई छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेरीमा भेटियो

सुर्खेत । आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार, मायाको शव लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको हो ।

‘निकै खोजतलास गर्दा आमाको शव चाहिँ भेटियो, केटाकेटीको अवस्था अझै अज्ञात छ,’ बुढ्थापाले भने, ‘आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि भेरीमा बेपत्ता भएको अनुमान छ । खोजी कार्य भइरहेको छ ।’

माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्‍यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने ।

त्यसपछि मायाले भेरीमै हाम फालेको हो कि भन्ने आशङ्का प्रहरीले गर्‍यो । सोही अनुसार सोमबार बिहानैदेखि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलासमा सक्रिय भए ।

Previous articleहनी ट्रयापमा संलग्न दुई पक्राउ
Next articleहुरीबतासले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ६ घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।