चितवन — सामाजिक सञ्जालमार्फत ‘हनी ट्रयाप’मा पारेर एक पुरुषलाई कुटपिट गरी स्कुटर लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमुना टोलका १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बस्ने ४९ वर्षीय पुरुषलाई फेसबुकमार्फत चिनजान गरी भेट्न बोलाएर कुटपिट तथा लुटपाट गरिएको हो।
‘ANEEY TMG’ नामको फेसबुक एकाउन्ट मार्फत पीडित संग चिनजान भई फोनमा समेत कुराकानी भइरहेको अवस्थामा गत फाल्गुन २९ गते ति पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बाजाने भित्रि बाटोमा भेट्न बोलाइएको थियो। उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिलाई समेत बोलाई पीडितलाई कुटपिट गरी उनीसँग रहेको बा.प्र–००४ प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ। पछि पीडितले स्कुटर फिर्ता माग्दा रकम माग्ने तथा रकम नदिए जबर्जस्ती करणी मुद्दा लगाइदिने भन्दै धम्की दिएको उजुरी प्रहरीमा परेको थियो।
उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



