चितवनको रत्ननगर १५ माधवपुरमा ५८औँ चैते दशैं तथा खेलकुद–सांस्कृतिक महोत्सव आजबाट सुरु भएको छ। महोत्सवको बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले उद्घाटन गरे ! माधवपुर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको महोत्सव भोली चैत्र १४ गते समापन हुनेछ ।

महोत्सवअन्तर्गत भलिबल, छेलो फाल्ने, डोरी तान्ने लगायतका प्रतियोगिताहरू सञ्चालन हुनेछन् भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम समेत हुनेछ !! भलिबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँसहित खसी, द्वितीयलाई ५० हजार रुपैयाँसहित खसी र तृतीय हुने टोलीलाई २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संयोजक राजु गुरुङले जानकारी दिए ।

समितिका अध्यक्ष गणेश तामाङका अनुसार पछिल्ला केही वर्ष कार्यक्रम हुन नसकेपछि यसपटक माधवपुरको पहिचान जोगाउन पुनः महोत्सव आयोजना गरिएको हो। महोत्सव सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा ३ लाख रुपैयाँ वडा स्तरीय बजेटबाट व्यवस्थापन गरिएको छ।

वडाध्यक्ष आसिक तामाङले माधवपुरको इतिहास, कला र संस्कृतिको संरक्षण तथा जगेर्नाका लागि महोत्सव महत्वपूर्ण हुने बताए। महोत्सव माधवपुर खेल मैदानमा सञ्चालन भईरहेको छ ।








