चितवन —मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा चितवन खैरहनीका एकजना युवाको मृत्यु भएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ का २१ वर्षीय दिपेश चौधरी रहेका छन् ।
दिपेशले चलाएको ना ५६ प ९१६९ नम्बरको स्कुटर आइतबार साँझ सवा ६ बजे पूर्व-पश्चिम राजमार्गको खैरहनी नगरपालिका- १ तरकारीचोकमा ना ४६ प ८२४८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका दिपेशको उपचारका क्रममा साँझ सवा ७ बजे भरतपुरको मनकामना अस्पतालमा मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
स्कुटरको पछाडि बसेका खैरहनीका २४ वर्षीय अर्जुन चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ । उनको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी, मोटरसाइकल चालक खैरहनी- १ का २२ वर्षीय अनिस बस्नेत र मोटर साइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय सुजोक दराई घाइते रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।
उनीहरू दुवैजनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।




