माडीलाई ‘मिनी फिल्म सिटी’ बनाउने पहल, निर्देशक प्रहिलको म्यूजिक भिडियो छायांकन सुरु

माडी : चितवनको ग्रामीण भेगमा पर्ने माडी नगरपालिकालाई ‘मिनी फिल्म सिटी’को रूपमा विकास गर्ने लक्ष्यसहित म्यूजिक भिडियो छायांकन सुरु गरिएको छ। रमणीय प्राकृतिक दृश्यले भरिपूर्ण माडी क्षेत्रको सौन्दर्यलाई भिडियोमार्फत उजागर गर्ने उद्देश्य राखिएको निर्देशक कार्कीले जानकारी दिए।

उनका अनुसार, यहाँका अनुपम प्राकृतिक दृश्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना अनुरूप म्यूजिक भिडियो तथा फिल्म छायांकनलाई प्राथमिकता दिइएको छ।

चितवनलाई फिल्म सिटीका रूपमा विकास गर्ने पहलकर्ता युवा पत्रकार राजेन्द्र आचार्यको पहलमा निर्देशक कार्की, भिडियो निर्माता तथा गीतकार–संगीतकार क्षितिज सापकोटाको टोली माडी आइपुगेको हो।

माडी नगरपालिका–८, फुलबारी टोलकी अध्यक्ष सुजिता पाण्डेको प्रमुख आतिथ्यतामा ‘म बाहुनको छोरो’ बोलको गीतको छायांकन सुरु गरिएको हो।

क्षितिज सापकोटाको आफ्नै शब्द तथा संगीतमा तयार गरिएको उक्त गीतमा सापकोटा स्वयं, नायिका कविता न्यौपाने र पत्रकार राजेन्द्र आचार्यले अभिनय गरेका छन्।

स्थानीय तह तथा सर्जकहरूको सहकार्यमा माडीलाई भविष्यमा चलचित्र छायांकनको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ।

Previous articleहर्क साम्पाङ भन्छन्, ‘नैतिकताको सवाल खडा भयो, पत्रकार सम्मेलन राखिहाल्नुस्’
Next articleक्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ, ३० लाख नगद बरामद