निराजन घिमिरे- रत्ननगर नगरपालिकामा सामुदायिक विद्यालयको कक्षा ८ को नतिजाले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। सामुदायिक विद्यालयबाट परिक्षामा सहभागी ६८२ विद्यार्थीमध्ये ४२३ जना कक्षा ९ मा अध्ययन गर्न अयोग्य हुँदा समग्र उत्तीर्ण प्रतिशत जम्मा ३७.९८ मा झरेको छ। आधारभूत शिक्षा जस्तो संवेदनशील तहमा यस्तो कमजोर नतिजा आउनु सामान्य असफलता होइन, प्रणालीगत कमजोरीको संकेत हो।

नतिजाको विश्लेषण गर्दा परिक्षामा सहभागी १९ मध्ये १६ वटा विद्यालयको नतिजा ५० प्रतिशतभन्दा तल रहेको छ । दुई विद्यालय बैरिया माध्यमिक विद्यालय ६४.४९% र आधारभूत विद्यालय बेलसी ६४.२९% ले केही राहत दिएको देखिए पनि बाँकी विद्यालयको अवस्था निराशाजनक छ। जनजागृति माध्यमिक विद्यालय ५१.३५ प्रतिशतमा सीमित हुँदा अन्य सबै १६ विद्यालयको नतिजा पचास प्रतिशत भन्दा माथि जान सकेन।
परिक्षामा सहभागी भएका कुल १९ वटा सामुदायिक विद्यालय मध्ये भद्रकाली मा.वि र आधारभूत विद्यालय देवौलीको नतिजा सबैभन्दा कमजोर देखिएको छ । यी दुवै विद्यालयका १० प्रतिशत विद्यार्थी पनि अपग्रेडेड हुन सकेनन् । जसमध्ये ३२ जना विद्यार्थीले परिक्षा दिएको भद्रकाली माविमा जम्मा ३ जना विद्यार्थी ग्रेडेड भएका छन् भने २९ जना विद्यार्थी ननग्रेडेड भएका छन् । जुन कुल विद्यार्थी संख्याको ९.३८% मात्र हो ।

यसैगरी आधारभूत विद्यालय देवौलीमा कुल १६ जना विद्यार्थी परिक्षामा सहभागी भएकामा १ जना मात्र कक्षा ९ मा अध्ययन गर्न योग्य भएका छन्। सो विद्यालयका १५ जना विद्यार्थी ननग्रेडेड भए । जुन कुल विद्यार्थी संख्याको ६.२५% मात्र हो । परिक्षामा सहभागी विद्यालय मध्ये ७ वटा विद्यालयको नतिजा ३० प्रतिशत भन्दा कम छ । आधारभूत तहको परिक्षामै यो संख्यामा विद्यार्थी ननग्रेडेड हुनु सामुदायिक विद्यालयको सिकाई प्रणाली माथिको गम्भीर प्रश्न हो । विद्यालयको नतिजाले ‘के त्यहाँ पढाइ नै भइरहेको छ? कि कक्षा सञ्चालन केवल औपचारिकतामा सीमित छ?’ भन्ने प्रश्न उठाएको छ ।
यति ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड हुनु केवल विद्यार्थीको कमजोरी होइन। यसले शिक्षक व्यवस्थापन, विद्यालय नेतृत्व, स्थानीय तहको अनुगमन र अभिभावकको सहभागितासम्मका सबै पक्ष कमजोर रहेको संकेत गर्छ। कतिपय विद्यालयमा शिक्षक अभाव, विषयगत दक्षता कमी, तथा नियमित अनुगमनको अभाव पनि देखिएको छ ।

सिकाइ कमजोर हुनुका कारण विभिन्न हुन सक्छन् तथापि न्यूनतम सिकाइ उपलब्धि हासिल गराउन विद्यालय र कक्षा शिक्षणको भूमिका महत्वपूर्ण हुन्छ । एउटै परिवेश र एउटै अवस्थाका दुई वटा विद्यालयका नतिजामा देखिने ठूलो अन्तरले समस्या विद्यालयमै छ भन्ने देखाउँछ। एकातिर भौतिक पूृर्वाधारको विकास र सुधारलाई प्राथमिकता दिइरहेको अवस्था छ भने अर्कातिर विद्यालयमा विद्यार्थी संख्या घट्दैछ । विषयगत शिक्षकको अभावलाई कमजोर सिकाइको कारण बताइँदै गर्दा पर्याप्त शिक्षक भएका विद्यालयहरूको नतिजा पनि राम्रो आएको पाइँदैन ।
नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक रूपमा उल्लेख्य बजेट विनियोजन गर्दै आएको छ । विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, शिक्षक व्यवस्थापन तथा विभिन्न कार्यक्रमहरूमा लगानी गरिएको छ । तर, यति धेरै लगानी हुँदाहुँदै पनि नतिजा सुधार हुन नसक्नुले “शिक्षामा गरिएको लगानी बालुवामा पानी जस्तै भइरहेको छ” भन्ने आलोचना बलियो बनेको छ ।



