कतारमा विदेशी कामदारलाई दिने न्युनतम बेसिक स्यालरी मार्च २० बाट लागु

काठमाणडौ – कतार आप्रवासी श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्ने पहिलो खाडी राष्ट्र बनेको छ । कतार सरकारले यसअघि नै घोषणा गरेको आप्रवासी श्रमिकको न्यूनतम तलब मार्च २० देखि कार्यान्वयनमा आएसँगै कतार आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेर कार्यान्वयनमा ल्याउने खाडीको पहिलो देश भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतारले न्यूनतम तलब एक हजार कतारी रियाल तोकेको छ । योसँगै श्रमिकहरुले पाउने न्यूनतम भत्ता पनि निर्धारण गरेको छ । यदि रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको खण्डमा अब खाना भत्ता बापत तीन सय रियाल र आवास भत्ता बापत पाँच सय रियाल श्रमिकलाई दिनुपर्ने हुन्छ । खाने बस्ने व्यवस्था रोजगारदाताले नै गरेको अवस्थामा भने श्रमिकले न्यूनतम भत्ता पाउने छैनन् ।

कतार सरकारले यो कानुन कार्यान्वयनमा ल्याएसँगै कतारमा कार्यरत नेपालीलाई पनि फाइदा हुनेछ । न्यूनतम तलब सुविधा अहिले कार्यान्वय भए पनि कतारका पाँच हजार भन्दा बढी कम्पनीले पहिलेदेखि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ ।

पछिल्लो समय कतार सरकारले श्रमिकको पक्षमा काम गरिरहेको छ । यसअघि कतारले श्रमिकको हितलाई मध्येनजर गर्दैै रोजगारदाता परिवर्तन गर्न पाउने कानुन ल्याएको थियो । २०२० को अन्तिम चौमासिकमा ७८ हजार श्रमिकले यसको फाइदा लिइसकेको कतार सरकारलाई उदृत गर्दै अलजजिराले लेखेको छ ।​ यस्तै एक्जिट भिसा बिना देश छाड्न मिल्ने गरी सन् २०१८ मा कतारले आफ्नो आवासीय कानुनमासमेत परिमार्जन गरेको थियो ।

सन् २०१० मा २०२२ को विश्वकप फुटबल कतारले आयोजना गर्ने भन्ने घोषणा भएदेखि आप्रवासी कामदारलाई लिएर कतार सचेत रहँदै आएको छ ।

https://ujyaalonepalnews.com/archives/13888

Previous articleजिउंदै मान्छे पुरेर फ’रार डोजर ड्राईभर अन्ततः पुगे प्रहरी खो’रमा
Next articleलकडाउन अवधीमा विदेशबाट उद्दारका लागि सरकारी खर्च पाउने १ सय ५६ जना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।