अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौँ, वैशाख २७ गते । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ ।

उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको बताउनुभयो । अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/14292

Previous articleसाउदीको जेद्दामा १९८ जनाको पासपोर्ट बनेर आईपुग्यो, तुरुन्त सम्पर्क गर्नुहोला
Next articleचीनले दिएकाे चार सय थान अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्स मार्फत नेपाल ल्याइयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।