चीनले दिएकाे चार सय थान अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्स मार्फत नेपाल ल्याइयो
काठमाण्डाै – नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याएको छ । साेमवार (हिजो) राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो ।
सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ । चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।
आज ६ वटा अन्तर्राष्ट्रिय उडान, कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे काठमाण्डौ आउँदै
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाण्डौ आउनेछ ।
यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट एअर एम्बुलेन्स दिउँसो पौने ४ बजे काठमाण्डौ आएर भारतको लखनउ जाँदैछ । यस्तै कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे आएर पौने ८ बजे उड्नेछ । यस्तै हिमालय एअरलाइन्सको जहाज आजै चीनको कुम्निङ जाँदैछ ।
https://www.ujyaalonepalnews.com/archives/14297